Sunday, April 19, 2026
No menu items!
Homeताजा खबरबर्दियामा हात्तीपाइले रोगको ट्रान्समिसन सर्भे

बर्दियामा हात्तीपाइले रोगको ट्रान्समिसन सर्भे

गुलरिया (बर्दिया), १८ भदौः सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन एसिसमेन्ट सर्भे (टास) सुरुआत गरिएको छ । सरकारको प्राथमिकतामा परेको उक्त रोग निवारण कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेका बर्दियाका ३७ विद्यालयका बालबालिकामा सर्भे सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीका हात्तीपाइलेको रक्त नमूना परीक्षण गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर, हेटौँडाका प्राविधिक ल्याब निरीक्षक राजकुमार इटेनीले बताउनुभएको छ । कक्षा १ र २ मा अध्ययनरत छ–सात वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिसन छ कि छैन भन्ने विषयमा अध्ययन एवं नयाँ कार्यक्रम बनाउन सर्भे सुरु गरिएको हो । नयाँ सङ्क्रमण जाँच्न बालबालिकाको उक्त उमेर समूह उपयुक्त मानिएको छ । उहाँका अनुसार रक्त नमूना जाँचका क्रममा हात्तीपाइले पोजेटिभ विद्यार्थीको सङ्ख्या १८ भन्दा कम भएमा टास सर्भे सफल र १८ भन्दा बढी भएमा असफल भएको मानिन्छ । सर्भे टिममा तीनजना संलग्न छन् । चिकित्सकका अनुसार क्युलेक्स जातको हात्तीपाइले सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेपछि हात्तीपाइले रोग सर्छ । बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ । सन् २०१२ देखि ३९ दशमलव आठ प्रतिशत बेसलाइनबाट सुरु गरिएको आम औषधि सेवनको कभरेज सन् २०१३ मा ६९ दशमलव एक प्रतिशत, २०१४ मा ७६ दशमलव दुई प्रतिशत, २०१५ मा ७९ दशमलव एक प्रतिशत, २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६ दशमलव छ प्रतिशत, २०१८ मा ७३ दशमलव चार प्रतिशत, २०१९ मा ७३ दशमलव आठ प्रतिशत, २०२० मा ७८ दशमलव पाँच प्रतिशत र सन् २०२१ मा ७९ दशमलव एक प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्ध औषधि सेवन गरेका छन् । गुलरिया नगरपालिका–९ डब्बास्थित ओमशान्ति आधारभूत विद्यालयमा बालबालिकाको हात्तीपाइले रोग टास–१ को परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक अनिल श्रीवास्तवले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments