Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरचौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो

चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो

भोजपुर, १६ भदौः जिल्लामा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ । चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो । चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय सङ्कटमा पर्दै गएको किसान बताउँछन् । दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ÷दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताउनुभयो । पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उहाँको भनाइ छ । आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चाँैरीपालनतर्फ आकर्षण घट्दै गएको उहाँको भनाइ छ । सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताउनुभयो । चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उहाँको भनाइ छ । “चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ”, किसान राईले भन्नुभयो, “तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ । किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ । चरन अभाव हुँदा व्यवसाय नै सङ्कटमा पर्ने अवस्था छ ।” यो व्यवसायबाट वार्षिक रु चारदेखि पाँच लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ । “व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्”, राईले भन्नुभयो, “लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ । आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ ।” चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ । चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताउनुभयो । नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ । छुर्पी प्रतिकेजी रु आठदेखि एक हजारसम्म बिक्री हुने गरेको छ । यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ । चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि गाउँघरका खेतबारीमा झर्ने गरेका छन् । चरन अभावमा बाउबाजेको पालाबाट गरी आएको चाँैरीपालन व्यवसाय सङ्टकमा पर्दै गएको किसान विमल राईले बताउनुभयो । चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उहाँको भनाइ छ । सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चाँैरी नफस्टाउने उहाँले बताउनुभयो । चरन क्षेत्र अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपर्दा धेरैले व्यवसाय छाड्दै गएको राई बताउनुहुन्छ । पछिल्लो समय चौँरीका लागि चाहिने पोषिलो घाँस मासिँदै गएको अवस्था छ । यसले पनि व्यवसायमा असर पुगेको छ । चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ । चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ । पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन् । चौँरी गाई तथा याकलाई रिसाहा जनावरका रूपमा पनि लिने गरिन्छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments