Saturday, April 25, 2026
No menu items!
Homeविश्व खबरतालिवानको सत्ता बहिर्गमनपछि जर्मनीबाट पहिलो पटक २८ अफगानी नागरिकको सुपुर्दगी

तालिवानको सत्ता बहिर्गमनपछि जर्मनीबाट पहिलो पटक २८ अफगानी नागरिकको सुपुर्दगी

फ्र्याङ्कफर्ट, जर्मनी, १४ भदौ (रासस/एएफपी) :

जर्मनीले सन् २०२१ को अगष्टमा तालिवान अधिकारीहरूले सत्ता सम्हालेपछि पहिलो पटक अफगानी नागरिकहरूको एउटा समूहलाई उनीहरूको देश फर्काइएको बताएको छ। सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यी सबै अफगानी नागरिकसँग जर्मनीमा बस्ने कुनै आधार नभेटिएपछि निर्वासन आदेश जारी गरिएको छ।” काबुलका लागि उडेको कतार एयरवेजको चार्टर्ड विमान लेइपजिग विमानस्थलबाट २८ जना अफगानी नागरिकलाई लिएर स्थानीय समयानुसार बिहान ५:०० बजेअघि उडेको डेर स्पीगेल पत्रिकाले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ। दुई महिनाको ‘गोप्य वार्ता’मा कतारले बर्लिन र तालिवान अधिकारीबीच मध्यस्थताको भूमिका निर्वाह गरेको स्पीगेलले जनाएको छ । जर्मनीले ‘प्रमुख क्षेत्रीय साझेदारहरूलाई निर्वासनको सुविधाका लागि सहयोग गर्न आग्रह गरेको’ पत्रिकाले उल्लेख गरेको छ । सन् २०२१ मा तालिवान प्रशासनले सत्ता कब्जा गरेपछि जर्मनीले काबुलमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो भने अफगानिस्तानमा सुपुर्दगी पूर्णरूपमा रोकेको थियो। जर्मन सरकारले अवैध आप्रवासन रोक्न र खतरनाक तथा दोषी ठहरिएका शरणार्थीविरुद्ध कडा कदम चाल्नुपर्ने माग उठिरहेका बेला शुक्रबारको निर्वासन आएको हो। गत हप्ता पश्चिमी शहर सोलिङ्गेनको एक सडक उत्सवमा भएको चक्कु आक्रमण र यसमा तीन जनाको मृत्यु भएसँगै जर्मनीको यो निर्णय आएको हो । आक्रमण इस्लामिक स्टेट समूहसँग सम्बन्ध भएका २६ वर्षीय सिरियाली युवकले गरेको जर्मन प्रहरीको प्रारम्भिक अनुसन्धानपछि अधिकारीहरूले बताएका छन् । संदिग्धलाई केही हप्ताअघि बुल्गेरियामा निर्वासित गर्ने योजना रहेको तर अधिकारीहरूले उनलाई फेला पार्न नसकेपछि उक्त प्रयासले सार्थकता पाउन सकेको थिएन । अफगानी २५ वर्षीय एक युवकमाथि गत मे महिनामा जर्मनीको मानहाइम शहरको एक चोकमा चक्कु प्रहार गरी एक प्रहरी अधिकारीको हत्या गरेको आरोप लागेको थियो । छुरा प्रहारले जर्मनीलाई स्तब्ध तुल्यायो र अफगानिस्तान वा सिरियाजस्ता असुरक्षित ठानिएका देशहरूबाट आए पनि गम्भीर अपराधीहरूलाई देश निकाला गर्ने बहसलाई पुनर्जीवित गर्‍यो। जर्मनीका गृहमन्त्री न्यान्सी फैजरले बिहीबार सुरक्षा र शरण नीतिलाई कडा बनाउने उपायअन्तर्गत जर्मनीले सिरिया र अफगानिस्तानबाट गैरकानुनीरूपमा आई जर्मनीमा बसेका नागरिकलाई देश निकाला गर्ने कार्य ‘चाँडै’ सुरु गर्ने बताउनुभएको थियो । आप्रवासनसम्बन्धी असन्तोषले यस आइतबार पूर्वी जर्मनीमा नजिकबाट हेरिएको दुई क्षेत्रीय चुनावमा प्रभाव पार्ने र अति दक्षिणपन्थी एएफडी पार्टीले यसबाट ठूलो फाइदा उठाउने अपेक्षा गरिएको छ। —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments