Thursday, April 30, 2026
No menu items!
Homeनेपाल खबरविस्फोटमा दाजुबहिनीको मृत्युः दुईजना घाइते

विस्फोटमा दाजुबहिनीको मृत्युः दुईजना घाइते

पाँचथर, १४ भदौः फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा घाइते स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते स्थानीय दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्केका छन् । घटनास्थलमा अर्को पनि शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न तथा विस्फोटक वस्तु निस्तेज पार्न रणशेर गण फिदिमबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । शङ्कास्पद वस्तु फालेलुङ–५ डाँडागाउँका आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ । यद्यपि अहिले उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ती बालबालिका खेल्ने क्रममा विस्फोट भएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments