Thursday, April 30, 2026
No menu items!
Homeनेपाल खबरयुवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई

युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई

पाटन (ललितपुर), १३ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपाल, होटल एशोसियशन नेपाल र नेपाल उद्योग परिसङ्घले संयुक्तरूपमा आज ललितपुरमा आयोजना गरेको शिक्षा र रोजगारी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा मन्त्री भट्टराईले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने जनशक्तिको मात्रै विकास गरेकाले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताउनुभयोे । “शिक्षा र उद्योग सँगसँगै गएनन भने अब देशको विकास हुनसक्दैन । यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरी नीति निर्माण गर्न छलफल गरिरहेका छौंँ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएका यहाँ योगदान गर्ने जनशक्ति तयार गर्न सकेनौँ, यसमा सरकारको ध्यान गएको छ”, उहाँले भन्नुभयो । मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले बनाउने पाठ्यक्रममा ज्ञान, सीप र कलालाई श्रम तथा समाजसँग जोड्ने गरी निर्माण गरिनुपर्ने उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान दिएर अगाडि बढेको धारणा राख्नुभयो । उहाँले शिक्षा, उद्योग र श्रम मन्त्रालयबीच सहकार्य र समन्वय गरी काम गर्ने बताउनुभयो । उहाँले व्यावसायिक शिक्षा प्रदान गर्ने अभिप्रायले २०४५ सालमा स्थापित सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्नेमा जोड दिनुभयो । “त्यतिबेलाको आवश्यकता अहिलेको अवस्थासँग समय सान्दर्भिक रहेको देखिँदैन, समय धेरै परिवर्तन भएको छ, नयाँ प्रविधिको विकास भएको छ, अब सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्छ, यसका लागि संसद्मा विद्येयक प्रस्तुत गर्ने तयारी भएको छ”, मन्त्री भट्टराईले भन्नुभयो । उद्यमशीलतासँग विद्यालय तहदेखिको शिक्षालाई जोडन बजेट र नीति तथा कार्यक्रममा पनि समावेश गरिएको उहाँले जानकारी गराउनुभयो । सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले विश्वलाई उपयोगी हुने व्यावसायिक शिक्षा सिटिइभिटीले काठमाडौँको बालाजु र दोलखाको जिरीमा सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले उद्योगको आवश्यकता अनुसारको जनशक्ति तयार गर्न पाठ्यक्रम विकास गरेर लागू गर्न सकिने बताउनुभयो । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष करण चौधरीले कुनै पनि व्यवसाय र संस्था सञ्चालन गर्न जनशक्ति बलियो हुनुपर्ने भन्दै अटोमोबाइल क्षेत्रका धेरै जनशक्ति पलायनको समस्याले धेरै यस क्षेत्रमा चुनौती थपिएको बताउनुभयो । “अटोमोबाइल क्षेत्र परिवर्तनशील छ, विद्युतीय सवारी साधनको बजारीकरण तीव्र रुपमा अगाडि बढ्दै गएको छ, साना–साना काम गर्नेदेखि कम्पनीको मालिकसम्मलाई रोजगारी दिनसक्ने यस क्षेत्रलाई देशभित्रै दक्षजनशक्ति आवश्यक छ, अटोमोबाइल क्षेत्रका लागि दक्षजनशक्ति सिर्जना गर्नु अत्यन्तै जरुरी छ”, उहाँले भन्नुभयो । होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समर्पण र क्षमता प्रदर्शन गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकता होटल क्षेत्रमा रहेको बताउनुभयो । उहाँले उद्योग व्यवसायको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्न नवीन सोच र नवप्रवर्तनका काममा सहकार्य गर्न सिटिइभिटीलाई आग्रह गर्नुभयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग व्यवसायमा आवश्यक सीपयुक्त दक्ष जनशक्तिको परिपूर्ति गर्न तालिम तथा रोजगारमूलक प्रशिक्षण दिएर सीप परीक्षण गरिनुपर्नेमा जोड दिनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments