Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरचालु आवको पहिलो महिनामै राजस्व सङ्कलनमा कमी

चालु आवको पहिलो महिनामै राजस्व सङ्कलनमा कमी

बागमती, १२ भदौः मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रु ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रु ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट रु १८ लाख ७८ हजार, व्यवसाय करबाट रु ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा रु २५ लाख ६२ हजार कम राजस्व सङ्कलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले रु चार करोड ७५ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी सङ्कलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो । यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा रु ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट रु सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट रु छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट रु दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट रु एक करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट रु पाँच लाख ८६ हजार, ढुङ्गागिट्टी बालुवा बिक्रीबाट रु ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत रु ८६ लाख ७३ हजार राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments