Sunday, April 19, 2026
No menu items!
Homeनेपाल खबरराष्ट्रियसभाः कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण

राष्ट्रियसभाः कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ, ६ भदौः राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमनामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको आकस्मिक समयमा सांसद दाहालले निर्माणाधीन पुल भासिएको घटनाको अनुसन्धान गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । निर्माणाधीन पुल भासिँदा सो क्षेत्रका २० लाख नागरिकले सास्ती पाइरहेका उहाँले उल्लेख गर्नुभयो । “स्थानीय जनप्रतिनिधि र जनताले पुल निर्माणका लागि बारम्बार पहल गर्दा सुनुवाइ नभएपछि यही भदौ ४ गतेदेखि १० जना युवाले मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि अनशन बसिरहेकाले तत्काल पुनः निर्माण अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो । तीस किलोमिटरको दूरी पार गर्न अर्को एक सय किलोमिटर हिँड्नुपर्ने वा भारतीय सीमाना हुँदै आउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सांसद दाहालले कमला नदीमा निर्माणाधीन पुल भासिएकाले सोको छानबिन गर्न माग गर्नुभयो । कमला नदीमा पुल बनाउन २०६८ साल मङ्सिरमा पप्पु लुम्बिनी बिल्डर्स र जेभी कन्स्ट्रक्सनसँग रु २४ करोड ९१ लाखको ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो । कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडा पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको उल्लेख गर्दै सांसद दाहालले समय थप्दै लगेर १० वर्षसम्म निर्माण हुन नसकेको समेत जानकारी गराउनभुयो । स्थानीय जनताको विरोधपछि मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र दिइएको उल्लेख गर्दै उहाँले पुल निर्माण नहुनुका कारणसहित स्पष्टीकरणसमेत सोधिएको बताउनुभयो । जनताको विरोधपछि हुलाकी सडक निर्देशनालयले जेभी कन्स्ट्रक्सनलाई हटाएर ठेक्काको सम्झौता लुम्बिनी कन्स्ट्रक्सनलाई दिएको बताउँदै सांसद दाहालले भन्नुभयो, “सम्झौताअनुसार पप्पु लुम्बिनी बिल्डर्सले सम्झौताअनुसार २०७८ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर सो अवधिसम्म पनि पूरा हुन सकेन । निर्माणाधीन अवस्थामा रहेको पुल २०७८ असारमा भासिएर काम नलाग्ने अवस्थामा पुग्यो । यसबारे सत्यतथ्य रुपमा छानबिन गर्नु आवश्यक छ ।” पुल निर्माणका लागि गरिएको डिजाइन नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै सांसद दाहालले सोको छानबिन कसले गर्ने भनी प्रश्न गर्नुभयो । उहाँले भासिएको पुलको निर्माण र मर्मत गर्ने सम्भावना नरहेको जनाउँदै सो स्थानमा नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments