Sunday, April 19, 2026
No menu items!
Homeताजा खबरठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा

ठूलीगाड जलाधार क्षेत्रमा भेटिए लोपोन्मुख प्रजातिका माछा

गोदावरी (कैलाली), ४ भदौः कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका छन् । बर्सात्का बेला ठूलीगाड जलाधार क्षेत्रमा पानीको सतह बढेसँगै विभिन्न प्रकारका माछाका प्रजाति पाइन थालेका हुन् । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइन थालेको स्थानीय भक्तप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार ठूलीगाड क्षेत्रमा अहिले जाल खेलाउँदा आधा घण्टाभित्रै चार पाँच किलो माछा मार्न सकिन्छ । जालमा अहिले एक घण्टामा दुई किलोदेखि २० किलोसम्मका माछा पर्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँदमा दिनभरि जाल खेलाउँदा पनि एक किलोग्रामसम्म पनि हुँदैन ।” पछिल्लो पटक लामो समयदेखि खडेरीका कारण नदीमा पानीको सतह कम हुन थालेपछि ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति घट्दै जान थालेकामा वर्षात्को समयमा भने पानीको सतह बढेसँगै विभिन्न प्रजातिका माछा पाइने गरेको चुरे गाउँपालिका–३ का स्थानीय टेकबहादुर शाहले बताउनुभयो । उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये शेर, जेब्रा, बुचे असला, सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको शाहको भनाइ छ । उहाँले ठूलीगाड जलाधार क्षेत्रमा असारदेखि कात्तिकसम्म माछा पाइने गरेको बताउनुभयो । नदीमा पानीको सतह घट्दै जान थालेपछि भने माछाका प्रजाति पनि घट्दै जाने गरेको स्थानीयको भनाइ छ । चुरे क्षेत्रमा जथाभावी रुपमा खनिएका सडकबाट ढुङ्गा, माटो, गेग्रान बगेर ठूलीगाड जलाधार क्षेत्रमा थुपारिएर नदीको गहिराइमा कमी हुँदा हिउँदमा माछाका प्रजाति घट्दै गएको चुरे–१ का स्थानीय हुकुमबहादुर बोहराले बताउनुभयो । वर्षात्का बेला पानीको सतह बढेपछि मात्र सो क्षेत्रमा माछा पाइने गरेको उहाँले बताउनुभयो । ठूलीगाड जलाधार क्षेत्र तथा अन्य सहायक खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोगगरी माछा मार्ने गरेकाले रैथाने माछाका प्रजाति लोप हुन थालेको उहाँको भनाइ छ । जलीय जैविक विविधता संरक्षण गर्न पाँच वर्षअघि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले ठूलीगाड जलाधार क्षेत्रमा जथाभावी रूपमा माछा मार्न प्रतिबन्ध लगाएका थिए । कैलालीको चुरे र मोहन्याल तथा डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याएर हिउँदमा माछा मार्न प्रतिबन्ध लगाएको चुरेका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । ठूलीगाड जलाधार क्षेत्रमा जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याउन सके जलीय जैविक विविधता संरक्षणसँगै माछाका प्रजाति जोगाउन सकिने उहाँको भनाइ छ । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व नौ सय ३५ मिटर क्युविक किमी र जलाधारको क्षेत्रफल आठ सय ५० क्युविक किमी रहेको बताइन्छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments