Saturday, April 18, 2026
No menu items!
Homeताजा खबरन्यकू जात्रा मतयाः भदौ पहिलो साता

न्यकू जात्रा मतयाः भदौ पहिलो साता

पाटन (ललितपुर), ३१ साउन : यस वर्षको न्यकू जात्रा मतयाः आगामी भदौ ५ गते लोकाकीर्ति महाविहार नकबहिलमा हुने भएको छ । पाटनको पौराणिक, ऐतिहासिक यो मतयाः सञ्चालन गर्ने मूलसमारोह समितिको क्षेत्र नं १ नकबहिलले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको हो । एक हजार चार सय वर्षदेखि सञ्चालनमा रहेको न्यकू जात्रा मतयाः मृत्युु भएका आफन्तको आत्मशान्ति, राम्रो स्थानमा बास होस् भनेर मनाइने गरिएको आयोजक समितिका महासचिव आशारत्न शाक्यले जानकारी दिनुभयो । “नेपाल संवत् अनुसार दसौँ महिना गुंलाभरी विभिन्न बौद्ध धार्मिक परम्परा सञ्चालन हुने गरेको छ, जसमध्ये करिब आठ सय ५० वर्षअघि लिच्छिवी राजा बालार्चन देवले ज्येष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा थालेको मतयाः अर्थात दीपयात्रा परम्परा यसवर्ष भदौ ५ गते परेको छ”, उहाँले भन्नुभयो । मतयाःको बिहान सबेरै ४ बजे श्रद्धालु भक्तजन नकबहिलमा भेला भई ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई आधार बनाइ दिनभर गल्लीगल्ली चोकचोकमा समेत प्रवेश गरी बौद्धिक धार्मिकस्थल देवालय, चैत्यालय, धर्मधातु, बागीश्वर परिक्रमा (लगभग १२ घण्टा) गरिने परम्परा छ । करिब दुई हजार देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाइलगायत सामग्री चढाउँदै सम्पन्न गरिने यस यात्राका पथप्रदर्शन बज्राचार्य पुरोहित रहने गरेको छ । अन्त्यमा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके)ले निस्ला (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने परम्परा छ । सहभागीमध्येमा महादेवको उपस्थिति रहने परम्परा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कुम्भेश्वरमा नवबाजा बजाई प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भए पनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको प्रचारप्रसार समितिका संयोजक सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । “विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने यस यात्रामा जो कोही पनि श्रद्धा सहभागी हुनसक्छन् । आयोजना तथा सहभागिताको दृष्टिकोणले समावेशी यो पर्वलाई कुशल एवं अनुपम संस्कृति मान्ने गरिन्छ”, उहाँले भन्नुभयो, “भगवान बुद्धको ध्यान भङ्ग गर्न आएका स्कन्धमार, मृत्युमार, देवपुत्रमार, क्लेशमार, अभिसंस्कारमारलाई जिती बुद्धत्व प्राप्त गरेपछि ती मारहरु भगवान बुद्धकै शरणमा गएको गाईजात्राको दिनको भोलिपल्ट शरणस्वरुप श्रद्धाभावले गरिने यसयात्रा परम्परामा अजिव वेषभूषा एवं शैलीमा ख्यालः अर्थात हास्य ब्यङ्गात्मक गीत, नृत्य तथा नाटिका प्रस्तुत गर्दै सहभागी हुने समूह पनि हुन्छन् । टोलटोलबाट बाजागाजासहित विभिन्न समूहको सहभागिता रहन्छ ।” संयोजक बज्राचार्यका अनुसार वाद्यबादन यस परम्पराको अर्को विशेषता हो । बाजा एवं बादन शैलीको अनुपम नमूना नवबाजा (धिमे, नाय्खिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदत, धाः, दमोखिं, नेकू, तिक्ली तथा पय्ताखिं) बाजा बजाउने गरिन्छ । यी बाजामध्ये धाः, न्यकू, दमोखिं, प्रमुख हुन् भने नेकू अर्थात सिङ्को फुकेर बजाउने बाजाकै नामबाट यस जात्रालाई न्यकू जात्रा अर्थात श्रृंगभेरी जात्रा भन्ने गरिएको हो । करिब चार सय वर्ष अघि भने मल्ल राजा सिद्धिनरसिंह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुरु बौद्ध बज्राचार्यसँग सल्लाह गरी १० वटा टोलले पालैपालो सञ्चालनको जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमा गरेको किंवदन्ती छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments