Sunday, April 19, 2026
No menu items!
Homeताजा खबर‘कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने’

‘कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने’

काठमाडौँ, ३० साउन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनुभएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण पश्चात मन्त्री पौडेलले सफाइ र सेवाको प्रभावकारिता बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरुन । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्दपि तपाईहरूको अझैँ धेरै सक्रियता राज्य र जनताले खोजेको छ ।” आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताउनुभयो । “अस्पतालमा भीड कसरी घटाउन सकिन्छ भन्नेतर्फ सबैले सोच्नु जरुरी छ । यसका लागि हामीले डिजिटल रुपमा सेवा सुरू गरेका छौँ, यसको प्रयोग सुरुआती दिनमा कम देखिए पनि विस्तारै बढ्छ । कुनै व्यक्ति उपचार गराउन आउँदा सोही दिन उसले सेवा सुविधा पाउनुपर्छ, यसलाई सम्भव गर्न यहाँका चिकित्सकसँगै सम्पूर्ण अस्पताल परिवारको सहयोग र सहकार्य चाहिन्छ”, उहाँले भन्नुभयो । मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिनुभयो । फरक प्रसङ्गमा उहाँले वीर अस्पताल झैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताउनुभयो । सो अवसरमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले गत वर्षको तुलनामा यसवर्ष अस्पतालमा १० प्रतिशत बढी बजेट विनियोजन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अस्पतालप्रति आम मानिसको विश्वास र यहाँको क्षमताकै कारण हामीले यसलाई अझैँ वृहत बनाउने नै छौँ । यसका लागि हामी तत्पर छौँ ।” अस्पतालका निर्देशक डा पङ्कज रायले एक हजार शय्याको अस्पताल बनाउन मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ भएको जनशक्ति पर्याप्त नभए पनि हामीले सेवालाई थप सहज र प्रभावकारी बनाउन मेहनत गरिरहेका छौँ । हाम्रो वार्षिक र बहुवर्षीय योजनालाई मन्त्रालयले अगाडि बढाउन मद्दत गरिरहेको छ, यसले आगामी दिनमा थप सुविधा दिन सहयोग पुग्छ ।” अस्पताल सञ्चालक समितिका अध्यक्ष बाबुराम गौतमले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य मन्त्री बन्नुभएकाले अस्पतालको स्तर बढ्नेमा कुनै दुविधा नरहेको बताउनुभयो । सो अवसरमा मन्त्री पौडेलले १६ शय्याको ‘बालबालिका मनोचिकित्सा अन्तरङ्ग वार्ड’को उद्घाटन गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments