Thursday, April 23, 2026
No menu items!
Homeनेपाल खबरजाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

काँक्रेविहार (सुर्खेत), ३० साउनः नेपाल विद्युत् प्राद्यिकरणको रु १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिनुभयो । जाजरकोटको कुदुबाट आएको प्रसारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुमपश्चिमको बाफिकोट सबस्टेशनबाट आएको विद्युत्बाट चार्जिङ गर्ने लक्ष्य छ । जाजरकोट खण्डमा प्रसारण लाइनको काम लामो समयदेखि हुन नसक्दा सबस्टेशनसम्म विद्युत् ल्याउन रुकुमपश्चिमको बाफिकोटस्थित सबस्टेशनको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता छ । सबस्टेशन निर्माणसँगै जाजरकोट खण्डमा प्रसारण लाइन निर्माण गर्न दबाब बढेको छ । ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृहको छेउमा यो सबस्टेशन निर्माण भएको हो । यही सबस्टेशनबाट जगदुल्ला जलविद्युत् एक सय छ मेगावाट आयोजना निर्माणस्थल र डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सबस्टेशनमा विद्युत् जडान गरिनेछ । तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश स्थानमा विद्युतीकरण गर्न यो सबस्टेशनले काम गर्ने प्राधिकरणको प्रदेश कार्यालयले जनाएको छ । भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युत्का ठूला आयोजना निर्माणमा समस्या भएको छ । नलगाड नगरपालिकामा मात्र पाँचवटा ठूला पुल निर्माण गर्न बाँकी छ । सडक निर्माणको काम चलिरहेको भए पनि पुल निर्माणमा ढिलाइ हुँदा समस्या भएको हो । विद्युतीकरण गर्न सामान ल्याउनुपर्ने भए पनि खोला तथा नदीमा पुल नहुँदा काममा बाधा पुगेको हो । वर्षायाममा स्थानीयवासीले समस्या भोग्नुपरेको छ । यती विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य कम्पनीले लिएको पुलको काम अलपत्र परेको छ । कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि सङ्घीय कार्यालयबाट ठेक्का लागेका कामले गति लिन सकेको छैन । चौखाको सबस्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो । समाइला र वडावनमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको भौतिक प्रगति पाँच प्रतिशत पनि भएको छैन । उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहेकामा एक वर्ष बित्दा पनि प्रगति निराशाजनक छ । प्रसारण लाइन र सबस्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनीले अहिलेसम्म सबस्टेशन निर्माणस्थलमा ढुङ्गा, माटो हटाउनेबाहेक काम नगरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कुदुबाट चौखासम्म प्रसारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवाले काम नगर्दा चौखा सबस्टेशनमा विद्युत् जडानको काम हुनसकेको छैन । छ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्या समाधान हुन नसकेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments