७ मंसिर, काठमाडौं

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेलगत्तै तीन सुरक्षा निकायका प्रमुख गृह मन्त्रालय पुगेका छन् ।

ओलीसँग भेटेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएका हुन् ।

मन्त्रालयमा दिउँसो ३ बजे भएको बैठकमा मुलुकको सुरक्षा स्थिति, विप्लव समूहका गतिविधि र अन्य समसामयिक विषयमा छलफल भएको बादलको सचिवालय स्रोतले जनायो ।

पहिले गृह मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई हाल प्रधानमन्त्री ओलीले आफू मातहत लगेका छन् । त्यसयता अधिकारीले प्रधानमन्त्रीलाई नै सिधै रिपोर्टिङ गर्दै आएका छन् । तर, उनी आइतबार गृहमा भएको सुरक्षा बैठकमा सहभागी भएका थिए ।

यसअघि प्रधानमन्त्रीसँगको भेटमा तीन सुरक्षा निकायका प्रमुखसहित प्रधानसेनापति पूर्णचन्द्र थापा पनि सहभागी थिए ।

Comments