काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् ।

महासंघको निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको नामावली अनुसार ६३ सिटका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा वैधानिक व्यवस्थाअनुसार स्वतः अध्यक्ष बन्नु हुने छ भने वरिष्ठ उपाध्यक्षसहित बाँकी पदमा निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानको उम्मेदवारी परेको छ ।

महासङ्घको उद्योग वाणिज्य समूह तर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र सङ्घाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ । जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ ।

महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

महासंघको साधारणसभा मंसिर ११ गतेदेखि १३ सम्म काठमाडौंमा हुँदैछ ।

Comments