एडलेड। साउथ अष्ट्रेलियामा दुई दिन अगाडीदेखि लागु गरिएको कडा लकडाउन अन्त्य भएको छ। छ दिनको लागि भनेर घोषणा गरिएको लकडाउन संक्रमितले झुटो बयान दिएको पुष्टि भएपछि दुई दिनमै अन्त्य भएको हो।

वुडभिल पीज्जा बारमा काम गर्ने किशोर क्वारेन्टिन बनाइएको होटलमा पनि काम गर्दै आएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिंगको लागि लिइएको बयानमा उनले आफू उक्त पीजा बारमा गएर पीज्जा खाएको र त्यहींबाट संक्रमण सरेको शंका लागेको बताएका थिए। दुई ठाउँ काम गर्ने गरेको कुरालाई लुकाउन उनले त्यस्तो बयान दिएको बताइएको छ। जुन बयानले गर्दा साउथ अष्ट्रेलिया सरकारले कडा लकडाउनको घोषणा गरेको थियो।

सरकारले पीज्जा बारका ग्राहकमा संक्रमण फैलिएको र समुदाय स्तरमा भयावह हुन सक्ने डरका कारण लकडाउनको घोषणा गरेको थियो। तर अहिले अन्यमा संक्रमण नदेखिएको तथा उक्त पीज्जा बार होटल क्वारेन्टिनसंग सम्बन्धित व्यक्ति, नजिकको सम्पर्कमा आएका व्यक्तिहरु सबैलाई पहिचान गरेर आइसोलेसनमा राखिएका कारण लकडाउन खुल्ला गरिएको हो।

Comments