काठमाण्डाै –  सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई २-० गोलले हराएको छ ।

त्यस्तै अपराजित ब्राजिलले उरुग्वेलाई २-० गोलले हराएको छ ।

पेरुमा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै २ गोल गरेको हो । अर्जेन्टिनाका निकोलास गोन्जालेसले खेलको १७ औं मिनेटमा र लाउटरो मार्टिनेजले २८ औं मिनेटमा गोल गरे । जितपछि अर्जेन्टिना ४ खेलमा १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । पेरु १ अंक सहित नवौं स्थानमा छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलले पहिलो हाफमै २ गोल गरेको थियो । ३४ औं मिनेटमा आर्थर र ४५ औं मिनेटमा रिचर्डलिसनले गोल गरेका हुन् ।

यो जितसँगै ब्राजिलले अपराजित यात्रा कायम राखेको छ ।

छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ ।

उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Comments