काठमाण्डाै – नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेनन् ।

यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ। यसअघि गएको कार्तिक २८ गते भएको मैत्रीपूर्ण खेलमा बंगलादेश २-० गोल अन्तरले विजयी भएको थियो । बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि जितेको हो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । कतारमा सन् २०२२ मा हुने विश्वकप र चीनमा सन् २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी छ ।

समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

Comments