‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती-११ रहदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । अहिले धिमाल कोरोना मुक्त भएका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । सबै अवे र एक होम खेल खेलिसकेको नेपालले अब अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

Comments