बङ्गलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे ।

खेलको नवौँ मिनेटमा नविद जीवनले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएका थिए । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बङ्गलादेशले दोस्रो हाफमा अर्काे एक गोल थप्यो । उसका लागि खेलको ८० औँ मिनेटमा महबुबुर रहमानले गोल गरे । उनी परिवर्तित खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए  ।

यस जितसँगै बंगलादेशले नेपालसँग साफ च्याम्पियनसिपमा व्यहोरेको हारको बदला लिएको छ ।२०७५ सालको भदौंमा ढाकामै भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो।विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

नेपालले अब बङ्गलादेशसँग मंसिर २ गतेदोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने छ । नेपाली राष्ट्रिय फुटबल टोलीले एक वर्षपछि शुक्रबार (आज) प्रतियोगिता खेलेको हो । नेपालले गएको वर्षको नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत कुवेतसित फुटबल खेलेको थियो । नेपाल त्यो खेलमा कुवेतसित १–० गोलले पराजित भएको थियो । 

कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेलेको थिएन । महामारीकै बीच नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  

Comments