चितवन, कात्तिक २७

चित्रमार्फत देशलाई विश्वभर चिनाउन नेपालका चित्रकार यति बेला व्यस्त भएका छन् ।नवलपुरको मौलाकालिका मन्दिरको सभाहलमा ७३ जना चित्रकार एक सय घण्टासम्म निरन्तर चित्र कोरी विश्व रेकर्ड कायम गर्ने दौडमा लागेका छन् ।

कोभिड १९ र लकडाउनका कारण सुनसान देशकै प्रशिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरको सभाहलमा चित्रकार भिम प्रसाद शर्मा भने प्रकृतिलाई चित्रमा उतार्दै हुनुहुन्छ ।६५ वर्षीय शर्मा वि.स. २०४० सालदेखि हातमा व्रस, अगाडि स्केच र टेवलमा भएका रङसँग पानी मिलाएर आकर्षक चित्र कोर्दै आउनुभएको छ ।

यो पटकको चित्र कोराई उहाँ सहित चितवन नवलपुरका १० चित्रकारका लागि विशेष छ ।कारण हो १०० घण्टासम्म निरन्तर चित्रकोरी विश्व रेकर्ड कायम राख्ने । यसैको सिलसिलामा चितवनका ९ र नवलपुरका १ जना चित्रकारले पानीरङबाट चित्र बनाएर सक्नुभएको छ ।

अर्का चित्रकार चितवनका प्रकाश थापा विश्व रेकर्ड कायम राख्ने कार्यक्रमको प्रदेश ३ संयोजक हुनुहुन्छ ।इन्टरनेशनल वाटरकलर्स सोसाइटीको आयोजनामा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहयोगमा कार्तिक २३ गतेदेखि सुरु भएको कार्यक्रम कार्तिक २७ गते सकिनेछ ।

भारतका कलाकारहरुले ७२ घण्टासम्मको रेकर्ड राखेकोमा त्यो तोडिने अभियानमा छन् चित्रकारहरु ।अर्का चित्रकार चितवनका बरुणबाबु घिमिरे सरकारी वेवास्ताका कारण नेपालमा यसले वामे सर्दै गरेको बताउनहुून्छ ।

कमाई धेरै नभएपनि दाल भात खान पुग्ने यो पेशामा निरन्तर लागिरहनुभएको उहाँ विश्व रेकर्ड कायम गर्नेमा दृढ हुनुहुन्छ र उत्साहित पनि ।सधैँ कोठामा सीमित भएर चित्र कोर्दे आउनुभएका घिमिरे यस पटक मात्रै १ घण्टा ३० मिनेटमा एउटा पुरै चित्र पानीरङबाट बनाउनुभयो ।

नेपालको कला, संस्कृति, रहनसहन, स्थानीय पहिचानलाई ऐनाझैँ उतार्न खप्पीस चितवनका अर्का चित्रकार दामोदर बराल आफ्नो चित्र देखाउँदै रेकर्ड तोड्न मात्रै एक दिन वाँकी रहेको बताउनुहु्न्छ ।यदि सरकारले नीति बनाएर चित्रकारहरुको सीप पहिचान गर्न सके देशलाई चिनाउने त छदैछ देशको अर्थतन्त्रमा योगदान दिन सकिने बताउनुहुन्छ ।

चितवन रत्ननगरका योगेश खनाल चित्र बनाएर भर्खरै सक्नुभयो । आफ्नो चित्रको व्याख्या गर्दै उहाँ निकै उत्साहित हुनुहुन्छ ।वाटरकलर आफैमा चुनौति भएपनि विश्वरेकर्ड राख्ने लक्ष्यमा रहनुभएका उहाँले सरकारले नेपाली कलालाई चिन्ह नसकेकोमा गुनासो गर्नुहुन्छ ।

उहाँहरु सहित लालकाजी लामा, दिनेश्वर महतो, मिलन गुरुङ, शुशिल गुरुङ, राजेश बरालले चित्र कोरेर सक्नुभएको छ ।ललितकला क्याम्पस बाहेक कला सम्वन्धि अध्ययन गर्ने विद्यालय क्याम्पस नहुँदा नेपालमा सोचे अनुसारको विकास हुन सकेको छैन ।पछिल्लो समय १०० घण्टाभित्र निरन्तर चित्र कोरी विश्व रेकर्ड राख्न देशभर ७३ जना कलाकार यसैगरी लागिरहनुभएको छ ।

Comments