मेलबर्न। अष्ट्रेलिया सरकारले अस्थायी भिसा होल्डरहरुका लागि नयाँ नियम ल्याएको छ। सरकारले अष्ट्रेलिया आउँदा ल्याइने सामान सम्बन्धमा नयाँ नियम ल्याएको हो।

अष्ट्रेलियामा बुधबार, नोभेम्बर ११ मा नयाँ कानुन पारित भएको छ। जसको असर विद्यार्थी भिसा र वर्किङ्ग भिसामा पनि पर्ने भएको छ।

अष्ट्रेलिया आउँदा ल्याइने सामान मध्ये केही खाना तथा वस्तुहरुमा सरकारले प्रतिबन्ध लगाएको छ। यसअघि ती प्रतिबन्धित सामान ल्याउने भिजिट भिसा होल्डरको भिसा रद्द सम्म हुन्थ्यो भने विद्यार्थी भिसा र वर्किङ्ग भिसा होल्डरलाई जरिवाना लाग्ने गर्थ्यो।

अब परिवर्तित कानुन अनुसार, प्रतिबन्ध गरिएका सामान तथा खाना ल्याउने विद्यार्थी भिसा र वर्किङ्ग भिसा होल्डरको पनि भिसा रद्द हुन सक्नेछ। त्यस्तै, अहिलेसम्म ४ सय ४४ डलर जरिवाना भएकोमा अब नयाँ कानुन अनुसार, २ हजार ६ सय ६४ डलर सम्म जरिवाना लाग्नेछ।

भिसा होल्डरले त्यो खाद्य वस्तुमा मिलाइएको सामान बारे स्पष्ट जानकारी दिन सक्ने या नसक्ने र त्यो कत्तिको हानिकारक छ भन्ने आधारमा सजाय दिइने बताइएको छ। यो नयाँ कानुन २०२१ जनवरी देखि लागु हुनेछ।

अष्ट्रेलियामा ल्याउन पाइने र प्रतिबन्धित सामान तथा खाना बारे जान्नको लागि क्लिक गर्नुहोस् >> https://www.abf.gov.au/entering-and-leaving-australia

Comments