काठमाडौं । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु सन् २०२१ को जुन महिना भित्र सकिने भएको छ ।

बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको हो।

एएफसीको प्रतियोगिता समितिको बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको कारण यस अघि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको म्याच डे ७ र ८ को खेल मार्चमा हुनेछ । यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुनेछ ।

२०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अब अष्ट्रेलिया, चाईनिज ताईपे र जोर्डन सँग खेल्न बाँकी रहेको छ ।

दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशको ढाकामा छ। नेपालले बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ ।

Comments