नेपालीहरुको ठूलो चाड तिहारको सांस्कृतिक विशेषतामध्येमा पर्छन् देउसी भैलो र भाइटिका । तिहारको यही विशेषता झल्काउदै केही चलचित्रमा समावेश गीतहरु निकै सदाबहार छन् । तीमध्ये सबैभन्दा लोकप्रिय गीत हो चलचित्र स्वर्गको यो गीत ।

‘तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन…’

यो गीत कतिसम्म लोकप्रिय छ भने तिहार भन्नेबित्तिकै धेरैको दिमागमा यही गीतको झल्को आउछ । अथवा यो गीत बज्न थालेपछि तिहार आएको चाल पाउनेहरु पनि धेरै छन् । यादव खरेलको शब्द रचना रहेको यो सदाबहार तिहार गीतका संगीतकार भने शम्भुजित बाँस्कोटा हुन् । शम्भु प्रधानले निर्देशन गरेको चलचित्र स्वर्ग यही गीतका कारण निकै सफल भएको थियो ।

त्यसो त स्वर्गभन्दा धेरै वर्ष अघि २०३८ सालमा निर्माण भएको चलचित्र बदलिँदो आकाशमा पनि निर्देशक लक्ष्मीनाथ शर्माले देउसीभैली गीत समेटेका थिए । संगीत सम्राटको उपाधि पाएका स्वर्गीय गोपाल योञ्जनको संगीत र स्वर रहेको उक्त गीत मौलिक लोकभाकामा आधरित थियो

चलचित्र स्वर्गकै निर्देशक शम्भु प्रधानले आफ्नो पहिलो चलचित्र सम्झनामा पनि देउसी र भैली गीत राखेका थिए । तिहारको प्रसंगमा देउसी र भैलीनीहरूले बिरामी भएर थला परेकी अभिनेत्री तृप्ति नाडकरलाई देउसी र भैली गीत सुनाएर केही क्षण भए पनि मनोरञ्जन दिएको दृश्य निकै मार्मिक थियो ।

‘दियो बाली साँझको
फूल सजाई पूजाको..’

यस्तै चिनो चलचित्रको यो तिहार गीत पनि २०४८ सालदेखि अहिलेसम्म हरेक तिहारमा बज्दै आएको छ । यो गीत पनि तिहारको सदावहार गीत बन्न सफल भएको छ । तुलसी घिमीरेले निर्देशन गरेको चलचित्रको यो गीतमा भारतीय गायिक आशा भोसलेले स्वर दिएकी छिन् । यो गीतमा निर्देशक घिमिरेकै शब्द र रन्जित गजमेरको संगीत छ ।

निर्देशक घिमिरेले चिनो भन्दा अघि निर्माण भएको चलचित्र अन्यायमा पनि तिहारको गीत समावेश गरेका थिए । उक्त चलचित्रमा मनिला सोताङले गाएको अधरमा आज…बोलको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

‘निधारमा लर्काएर सप्तरंगी टीका,
हिँडिरहू सधैं तिमी शिखरको बाटो

चलचित्र विजयपराजयमा समावेश यो गीतले भने समग्र तिहारभन्दा पनि भाइटीकाको महत्व दर्शाएको छ । शम्भुजित बाँस्कोटाको संगीत र हेमलताको स्वर रहेको यस गीतको रचना भने कवि दिनेश अधिकारीले गरेका हुन् । गीतमा दुई दाजु भुवन केसी र कृष्ण मल्ल अनि बहिनी बनेकी रुपमा रानाबीको भाइटीकाको प्रसंगलाई उजागर गरिएको छ । यो चलचित्रको निर्देशन राजेन्द्र सलभले गरेका हुन् ।

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको अन्तिम चलचित्र कोहिनुरमा समावेश यो गीत पछिल्ला वर्षहरुमा निकै रुचाइएको तिहार गीत हो । आकाश अधिकारीले निर्देशन गरेको यो चलचित्रको गीतमा स्वर्गीय नायक श्रेष्ठसँगै उनकी आमा र पत्नी श्वेता खड्काको अभिनय रहेको छ । यस गीतका संगीतकार पनि शम्भुजीत बाँस्कोटा नै हुन् ।

तिहारका यी सदाबहार गीतका अलावा चलचित्र पल्टन,राहदानी,पर्खिराख है, भाइटीका र फिटकिरी लगायतका चलचित्रमा पनि तिहारको गीत समावेश छ । हरेक वर्ष तिहारमा चलचित्रका यी गीतहरु निकै घन्किने गरेका छन् ।

Comments