१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।

युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५१ बलमा ४ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै इशान किसनले अविजित रहदै ३३ रन जोड्दा हार्दिक पाण्डयले ३ रन जोडे ।

ओपनर क्विन्टन डी ककले २० तथा सूर्यकुमार यादबले १९ रन जोडे । केइरन पोलार्ड ९ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले ।

श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर द्वन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस सुन्य रनमा आउट भए ।

अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे ।

मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १/१ विकेट लिए ।

यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो ।

मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो ।

मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो ।

पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ ।

यो हारसँगै दिल्ली एकै सिजन मुम्बईसँग लगातार चौंथो खेलमा पराजित भएको हो । दिल्ली यस अघि लिगको दुई भेट र पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजन दिल्लीको टिमबाट मैदानमा उत्रन पाएनन् ।

Comments