अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष छिटै जाडो बढेपछि लमजुङको उच्च हिमाली काख र लेकाली क्षेत्रमा रहेका भेडीगोठहरु यतिवेला विस्तारै वेसी झर्न थालेका छन् । चिसो मौसम बढेसँगै वेसी झर्न शुरु गरेका भेडीगोठहरु अहिले गाउँ र बस्ती नजिकैका डाँडा काँडाहरुमा पुगेका छन् ।

उत्तर पश्चिम लमजुङका भेडीगोठहरु लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेकोमा अहिले गाउँ माथिका डाँडाहरुमा आईपुगेका छन् । यस्तै, पूर्वी लमजुङको पनि दूधपोखरी आसपासका क्षेत्रमा पुगेका भेडीगोठहरु अहिले विस्तारै फर्कने क्रममा रहेका छन् । लमजुङका उच्च हिमाली भेगहरुमा रहेका चरन क्षेत्रहरु पुरै हिँउले पुरिन थालेपछि गोठालाहरुले आ—आफ्ना भेडाहरु बेसी झार्न थालेका हुन् ।

लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, घलेगाउँ, सिउरुङ, ताघ्रिङ, भूलभूले, ईलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी लगायतका ग्रामीण क्षेत्रका वासिन्दाको भेडीगोठ रहेका छन् । जिल्ला पशु सेवा कार्यालय लमजुङका अनुसार लमजुङमा १९ वटा गाविसका ६५ वटा भेडीगोठहरु छन् । ती भेडी गोठमा १३ हजार भन्दा बढी भेडाबाख्राहरु रहेको अनुमान गरिएको छ ।

यसअघि कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेका पसगाउँको भेडीगोठ अहिले क्यूबे–ल्हेदेमा आईपुगेको स्थानीय मनलाल गुरुङले जानकारी दिए । यस्तै, भुजुङको भेडीगोठ खोला फाल्न्हे सम्म पुग्ने गरेकोमा अहिले क्यूबारमा रहेको भेडी गोठालाहरुले बताएका छन् । यस्तै, घलेगाउँको भेडीगोठ भने गाउँमै आईपुगेको छ । लमजुङ हिमालको काखसम्म पुग्ने भेडीगोठ पर्यटकीय मौसमको शुरुवातसंगै गाउँ झरेको दीर्घ घलेले बताए । यस्तै, उत्तरी लमजुङको ताघ्रिङका वासिन्दाको भेडीगोठ यसअघि थुर्जु पुगेकोमा अहिले ठुलागीमा झरेको छ ।

लमजुङमा भेडीगोठहरु ६ महिना लेक र ६ महिना वेसीमा रहने गर्छ । अहिले झरेको भेडीगोठहरु बैशाख जेठदेखि पुनः लेक फर्कन्छन् । पर्याप्त मात्रामा घाँसे मैदान र खर्कहरुको ब्यबस्था भएपनि गाउँका युवाशक्तिले चासो नदेखाउँदा भेडापालन ब्यबसाय लोप हुन लागेको छ । भेडाको ऊन र मासुको माग बढी रहेका बेला भेडापालन ब्यवसाय नै लोप हुने हो की भन्ने चिन्तामा भेडी गोठालाहरु रहेका छन् ।

Comments