इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्ग्स एलाभेन पञ्जाबले सनराइजर्स हैदराबादमाथि १२ रनको जित निकालेको छ । शनिबार राति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।


दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।  

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए । यस्तै विजय शंकरले २६ रन जोड्दा जोनी बेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले १५ रन बनाए ।

पन्जाबका क्रिस जोर्डन र अर्शदीप सिंहले समान तीन/तीन विकेट लिए । त्यस्तै मोहम्मद शामी, मुरुगन अश्विन र रबि बिश्नोईले समान एक एक विकेट लिए । 

पन्जाबका लागि निकोलस पुरनले अविजित रहदै सर्वाधिक ३२ रन, कप्तान केएल राहुलले २७ रन , क्रिस गेलले २० रन बनाए । मन्दिप सिंह १७ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले १२ रन बनाए ।

हैदराबादका लागि सन्दीप शर्मा, जेसन होल्डर र राशिद खानले समान दुई/दुई विकेट लिए ।

जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । हैदराबाद भने आठ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । अब हैदराबादको प्लेअफ यात्रा कठिन बनेको छ ।

Comments