नवदुर्गा पूजा तिथि अनुसार नौं दिनसम्म गर्ने गरिन्छ, जसलाई नवरात्री भनिन्छ । नवरात्रीको पहिलो दिनलाई घटस्थापना भन्ने गरिन्छ । यस दिनमा कलश स्थापना गरेर देवीको पूजन गर्ने तथा जमरा छर्ने गरिन्छ । नवौं दिनसम्म उपवास बसेर दुर्गा माताको पूजा आराधना गरिन्छ, दुर्गा माताका विभिन्न रुपको स्मरण गरिन्छ । त्यसपछि दशौँ दिनमा विजय उत्सवको रुपमा विजयादशमी मनाउने गरिन्छ । दुर्गा माताले राक्षसको सर्वनाश गरेको दिनको रुपमा यस दिनलाई लिइन्छ । 

नवरात्रीमा दुर्गा माताको पूजा गर्दा बेलुकापख या रातीको समयमा गर्ने गरिन्छ । यसरि दुर्गा माताको पूजा रातीको समयमा गरिनुको खास कारण रहेको छ । हिन्दु धार्मिक मान्यता अनुसार, देवीलाई रात्री स्वरुप मानिन्छ । त्यसैले दुर्गा माता र लक्ष्मी माताको समेत रातीमा पूजा गर्ने चलन छ । शिवजीलाई दिनका स्वरुप मानिन्छ । 

रात्री रूपा यतो देवी दिवा रूपो महेश्वरः। 

रात्री व्रतमिदं देवी सर्व पाप प्रणाशनम्।।

वस्तुत: शिव र देवी खास भिन्नता हुँदैन । तर देवीलाई रातीको समयमा पुज्दा अधिक फल मिल्ने मान्यता छ । त्यसैले देवीको भजन गाएर बस्दा पनि रातीमा गर्ने गरिन्छ । त्यस्तै नवरात्रीको समयमा पनि राती जाग्राम रहन सकेमा राम्रो हुने विश्वास छ ।

Comments