• कामना न्यौपाने

कागेश्वरी मनहराको अर्यालगाउँमा एउटा सानो सटरभित्र निलो रंगको पालिस लगाइएका टेबुल र बेन्चाहरु छन्। लकडाउन अगाडीसम्म एक/दुई जना मात्रले गर्दा भएपनि बेलुकाको समयमा त्यति खाली नहुने बेन्चाहरु अहिले बिहानदेखि रातीसम्म नै प्राय: खाली हुन्छन्। अगाडी पट्टिको सोकेसमा राखिएका पानीपुरीको हिसाब किताब गर्दै समय बिताउँदैछिन् देव नारायण शाहकी श्रीमती लालचुन्नी शाह।

ठेलामा पानीपुरी र चटपटे खाने ग्राहकहरुका थुप्रै गुनासा सुने सर्लाहीका देव नारायण शाहले। फोहोर भयो, बस्ने ठाउँ भएन, पानीपुरी खान अप्ठ्यारो भयो, ग्रुपमा आएर खान मिलेन भन्ने ग्राहकका गुनासाहरु मेट्न देवनारायणले सटर लिएर पानीपुरी बेच्ने निधो गरे। उनलाई पनि लागेको हो, सटरमा सफा पानीपुरी र चटपटे बेचौं, व्यवस्थित तरिकाले व्यवसाय गरूँ र ग्राहकलाई पनि राम्रो सेवा दिउँ।

देव नारायणले अर्याल गाउँमा त्यसरी व्यवस्थित रुपले पानीपुरी र चटपटे बेच्ने पसल देखेनन्। उनले एउटा सानो सटर पाए र सुरु गरे पानीपुरी-चटपटे पसल। २०७५ को फागुनमा पसल खोलेपछि ग्राहकहरु पनि बढ्दै गए। बस्न ठाउँ नपुगेकाहरुले समेत प्याकिङ्ग गरेर लैजान थाले। शाह दम्पत्तिको मिजासिलो व्यवहारले ग्राहकहरु तानिए । तर पानीपुरी र चटपटेमा हुने सानो आम्दानीले सटर भाडा, पसलको सबै व्यवस्थापन गर्न सजिलो थिएन। उनमा आशा भने भरपुर थियो। उनले पसलमा भुटेका गेडागुडी, बदाम पनि राख्न थाले।

बाटोमा हिंड्दै गरेकाहरु, घाम ताप्दै गरेकाहरु आएर बदाम सित्तैमा निकालेर हिंड्दा उनले मनमनै हिसाब गर्थे, आफ्नो नाफा घाटा। मधेसी समुदायलाई देशको राजधानीमा बस्ने सभ्यहरुले गर्ने व्यवहार उनलाई राम्रोसंग थाहा थियो। उनी बोल्दैनथे।

कतिले उधारो खाएका छन्, पैसा दिंदैनन्। माग्दा कतिले उल्टै थर्काउँछन्। कति उधारो खाएपछि आउनै छोडछन्। सोंच्थे ” जसले जति सक्छ त्यति नै सोंच्ने हो, त्यति नै गर्ने हो। ठेलामा बसेपनि, सटरमा बसेपनि शिक्षित र सभ्यहरुले हामीलाई हुलिया, रंग र क्षेत्रकै हिसाबले व्यवहार गर्ने रहेछन् “।

देवनारायण अहिले झन् मौन छन्। उनी पसलमा देखिंदैनन्। पसल २०७५ को फागुनमा सुरु गरे। पसलबाट धेरै फाइदा भइरहेको थिएन, उकालो लाग्ने आश भने जीवित थियो। तर २०७६ को फागुन सकिंदा कोरोना महामारी भित्रियो। सरकारले लकडाउन जारी गरेपछि पसल बन्द भयो। गाउँ फर्केर खेतीपाती गर्न जग्गा जमिन छैन। त्यसैले लकडाउन खोल्ने सरकारको निर्णयलाई पर्खेर बसे।

लकडाउन खुलेपछि उनको पसल पनि खुल्यो। तर संक्रमणको डरले ग्राहक आएनन्। सानो सटरको भाडा मासिक ८ हजार ५ सय छ। महिनौं देखि भाडा तिर्न सकिरहेका छैनन्। उता, बस्ने कोठाको पनि भाडा तिर्नुपर्छ।

काम गर्दै गर्दा आफूलाई कोरोना संक्रमण भयो भने ? पसलमा संक्रमण सर्यो भने ? थाहा छैन उनलाई सरकार कहाँ छ, थाहा छैन उनलाई सहयोग कहाँबाट र कसरी लिन सकिएला। उनलाई यत्ति थाहा छ – काम गरेर खानुपर्छ। लकडाउन खुलेयता उनी कवाडीमा काम गर्न थालेका छन्। बिहानै काममा निक्सिन्छन् र राती आइपुग्छन्।

देवनारायणको पसलमा अहिले उनकी श्रीमती लालचुन्नी र जेठो छोरा भेटिन्छन्। शाह दम्पत्तिका दुई छोरा छन्। ठूलो छोरा ६ कक्षा र सानो छोरा तीन कक्षामा पुगेका छन्। ठूलो छोरा सरकारी स्कुलमा पढ्छन्। लामो समय शुल्क तिर्न नसकेका कारण बोर्डिङ्ग स्कुलमा पढ्ने कान्छो छोरालाई भने अहिले स्कुलले भर्ना लिएको छैन। मासिक १२ सय शुल्क भनेको अहिले उनको लागि ठूलो बजेट जस्तै हो।

त्यसो त, कान्छोलाई पनि सरकारी स्कुलमै भर्ना गरिदिए हुन्थ्यो। तर उनको बुझाई छ, सरकारी स्कुलमा विद्यार्थीलाई विशेष ध्यान दिएर पढाइदैन, विद्यार्थीले बुझे-बुझेनन् भन्ने कुराको हेक्का राखिंदैन। उनलाई लाग्छ, कान्छो छोराले अलि ढिलो कुरा बुझ्ने भएका कारण सरकारी स्कुलमा पढाउँदा उसको भविष्य राम्रो हुनेछैन।

छोराहरुको भविष्य आफ्नो अहिलेको जस्तो भोगाई जस्तो नबनोस् भन्ने चाहन्छन्, देव नारायण। तर महिनौं देखि तिर्न संकेको भाडा, ऋण, पसलको स्थिति, आफ्नो आम्दानी देख्दा उनी आफै टोलाउँछन्, साँच्चै दिन सकिएला त छोराहरुलाई सुन्दर भविष्य ?

( नेपाली पत्रकारहारुको अन्तर्राष्ट्रिय संगठन इन्जाको सहयोगमा तयार पारिएको। )

Comments