कोरोना महामारी र यसले भित्र्याएको लकडाउनका कारण अहिले विश्व नै आक्रान्त बनिरहेको छ। कैयौंले रोजगारी गुमाइरहेका छन् भने कैयौं साना-ठूला व्यवसायहरु बन्द हुने स्थितिमा छन् र केही त बन्द पनि भइसकेका छन्। तर यही नकारात्मक पक्षभित्र सकारात्मकताको खोजी गर्दै गर्दा निस्किएको नतिजा हो – अष्ट्रेलियाको मेलबर्नमा अहिले संचालित म:म किङ्गडम।

मेलबर्नमा इभेन्ट कम्पनिको रुपमा स्थापित सोलाङ्गचर टिमले गत वर्षको जनवरी महिनामा आफ्नो व्यवसायिक क्षेत्रलाई विस्तार गर्ने उद्देश्यले रिसेप्सन भेन्यु संचालनमा ल्यायो। तर त्यस लगत्तै सुरु भएको कोरोना महामारीका कारण मार्च महिनामा उक्त रिसेप्सन भेन्यु बन्द गर्नुपर्ने अवस्था आयो।

एकातिर इभेन्टको काम पनि बन्द जस्तो भयो भने अर्कोतिर भर्खरै संचालन गरेको व्यवसाय पनि बन्द भयो। यो समयलाई सोलाङ्गचर टिमले निराशा भन्दा पनि सिकाईको अवसर बनाउने निर्णय गर्यो।

सोलाङ्गचर टिमले अष्ट्रेलियामा नेपाली म:मलाई प्रबर्द्धन गर्ने उद्देश्यले विगत केही वर्षहरुदेखि म:म फेस्टिभल गर्दै आइरहेको थियो। मेलबर्नमात्र नभएर अन्य राज्य तथा सहरहरुबाट र विदेशी समेत आउने उक्त म:म फेस्टिभल सोलाङ्गचरले भव्य रुपमा सम्पन्न गर्दै आइरहेको थियो। तर, धेरै मानिसहरुको उपस्थिति, टिम सदस्यहरु इभेन्ट व्यवस्थापनमा लाग्नुपर्ने आदि कारणले गर्दा म:मको गुणस्तरमा कहिलेकाहीं गुनासा आउने गर्थे। अर्कोतिर, म:म खानको लागि फेस्टिभलमा सहभागीहरु घन्टौं लाइन लाग्नुपर्ने हुन्थ्यो। र, टिमले आफूले चाहे अनुसारको, आफ्नो उद्देश्य अनुरुपको म:म, अचार र सेवा दिन पाइरहेका थिएनन्।

कोरोना महामारीले दिलाइदिएको फुर्सदलाई सोलाङ्गचर टिमले आफ्ना ती कमजोरीलाई केलाउंदै सुधारको लागि अभ्यास गर्न थाल्यो। टिमका सदस्यहरुले म:ममा कसरी नेपाली स्वाद ल्याउने, म:म तथा अचारमा कसरी भेराइटि दिन सकिन्छ भनेर अभ्यास गर्न थाले। त्यसपछि ग्राहकको प्रतिक्रिया लिएर त्यसमा अझ सुधार ल्याउनको लागि म:मको होम डेलिभरी गर्न थाले। त्यसपछि टिमको सक्रियता तथा एकता र ग्राहकहरुको प्रतिक्रियाले जन्मियो – म:म किङ्गडम।

सोलाङ्गचरका डाइरेक्टर राजु शाक्य भन्छन् , ” ग्राहकहरुको यति राम्रो प्रतिक्रिया पाएका छौं कि, जिन्दगीमा मैले यति धेरै खुशी कहिल्यै महसुस गरेको थिइन होला। मलाई लाग्छ, नेपाली स्वादको म:म र त्यसमाथि पनि हामीले गुणस्तरीयतामा सम्झौता नगरेकै कारण हामीले यति धेरै माया पाइरहेका छौं। म:म डेलिभरी गरेर फ़र्किएपछि जब म्यासेज, फोटोहरु आउँछन् नि, तब यति खुशी मिल्छ कि म त्यो खुशीको बयान नै गर्न सक्दिन “।

म:म किङ्गडमले मेलबर्नका आफ्नो आसपास ठाउँमा हरेक दिन र टाढाका ठाउँमा शनिबार, आइतबार होम डेलिभरी दिंदै आएको छ। म:म किङ्गडमले म:म मात्र नभएर सेलरोटी, अचार, बारा, छ्वेला लगायत अरु परिकारहरु पनि आफ्नो मेनुमा समावेस गर्न थालेको छ। डाइरेक्टर शाक्यका अनुसार, एउटा कुनै थिम बनाएर त्यो थिम अनुसार मेनुमा परिकारहरु जोड्ने गरिन्छ।

लकडाउनले गर्दा जन्मिएको यो म:म किङ्गडमको भविष्य बारे डाइरेक्टर राजु शाक्य भन्छन् ,” अष्ट्रेलियामा अन्य देशको डम्प्लिङ्ग प्रसिद्ध छ। तर म:म बारे थाहा छैन। हामीले अष्ट्रेलियामा नेपाली म:म, नेपाली परिकारको प्रबर्द्धन गर्न सकौं भन्ने उद्देश्यले म:म फेस्टिभल सुरु गरेका थियौं। म:म किङ्गडमलाई पनि हामीले यही उद्देश्यका साथ निरन्तरता दिनेछौं। नेपाली म:म , नेपाली परिकारलाई यहाँका रेष्टुरेन्टका मेनुमा समावेस गराउनु, यहाँका स्थानियको रोजाइमा पार्न सक्नु भनेको नेपालको प्रबर्द्धन गर्नु हो”।

उनी थप्छन् , ” एक पाइला चालिसकेका छौं। र, यो आधार खुड्किला पनि हो। अब अर्को पाइला कसरी चाल्ने र कसरी अगाडी बढ्ने भन्ने पनि छिट्टै पत्ता लगाउने सक्नेछौं भन्नेमा आशावादी छौं “।

Comments