काठमाडौं । कात्तिक १ गते शनिबार ( अक्टोबर १७ ) देखि नेपालीको महान् चाड बडादशैँ भएको छ । 

दशैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुने मान्यतासंगै आज बिहानैबाट नुहाएर घरहसफा गरेर गाईको गोबरले  लिपपोत गरि शुद्ध बनाएर सजाउने गरिन्छ। यो प्रक्रिया पश्चात नवरात्रि शुरु भएको मानिन्छ।

आज चोखो स्थलबाट बालुवा वा माटो ल्याएर  गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।

Comments