• ऋषिकेश न्यौपाने
    ( वरिष्ठ उपाध्यक्ष, प्रवासी नेपाली एकता समाज अष्ट्रेलिया )

यतिबेला कोरोना भाईरसले विश्वलाई आतंकित बनाइरहेको छ तर नेपालमा भने अन्य देशहरुमा भन्दा फरक प्रकृतिको भाइरस फेला परेको छ । नेपालमा राष्ट्रघात, भ्रष्टाचार, हत्या , हिंशा , बलात्कार र अन्याय , अत्याचारको विरुद्धमा आन्दोलन गर्दा कोरोना सर्छ, तर प्रधानमन्त्रीको कुर्सी जोगाउनका लागी देशव्यापी आन्दोलन गर्दा कोरोना सर्दैन, राजनीतिक कार्यक्रम गर्दा कोरोना सर्दैन ।

रथयात्रा गर्दा कोरोना सर्छ तर शवयात्रा गर्दा कोरोना सर्दैन । पशुपतीनाथको मन्दिरमा पूजा गर्दा कोरोना सर्छ तर चर्चमा प्रार्थना गर्दा र मस्जिदमा नवाज पढ्दा कोरोना सर्दैन । समग्रमा भन्नुपर्दा सरकारलाई मन नपर्ने क्रियाकलाप गर्दा कोरोना सर्छ तर सरकारलाई मनपर्ने क्रियाकलाप गर्दा कोरोना सर्दैन ।

नेपालमा कोरोना संक्रमण बढ्नुमा सरकार र सत्तारुढ दल नै बढी जिम्मेवार रहेका छन् । पहिलो लकडाउनको समयमा नेपालमा कोरोना संक्रमितको संख्या सिमित मात्रामा थियो, स्थिती सामान्य नै थियो, जब नेपाल सरकारले कर उठाउने उद्देश्यले असार मसान्तलाई लक्षित गरी लकडाउन खोल्यो संक्रमितको संख्या ह्वात्तै बढ्यो । असार मसान्तदेखी आजको दिनसम्म पनि कुनैपनि सरकारी कार्यलयहरुमा माक्स लगाउने बाहेक अन्य स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुरा गरिएको छैन र सामाजिक दूरी समेत कायम गरिएको देखिॅंदैन ।

सार्वजनिक यातायात, बजार लगायतका अन्य स्थानहरुको पनि यस्तै अवस्था छ । कुनै पनि स्थानमा न कुनै सुरक्षाकर्मी खटाएर स्वास्थ्य सम्बन्धी मापदण्ड र सामाजिक दूरी पालना गराईएको छ न कुनै जनचेतना जगाउने भरपर्दो काम भएको छ। यही प्रवृत्तिले नेपालमा दिन दुईगुणा रात चौगुणाको दरले संक्रमण फैलियो ।

सत्तापक्ष , प्रतिपक्ष लगायतबाट केन्द्र देखी स्थानिय तह सम्म आयोजना गरिएको राजनीतिक बैठक, भेला र पार्टी प्रवेश कार्यक्रमहरुले आगो झैं दन्कीरहेको कोरोना संक्रमणमा घ्यू थप्ने काम गर्यो । प्रधानमन्त्रीको कुर्सी जोगाउनका लागी प्रधानमन्त्री केपी ओली गुटका नेकपा कार्यकर्ताहरुले गरेको देशव्यापी आन्दोलनबाट पनि यसमा थप सहयोग पुग्यो ।

हुन त एमसीसी विरुद्धको आन्दोलन तथा हत्या, हिंसा, बलात्कार बिरुद्धको आन्दोलन, अनियमितता र भ्रष्टाचार विरुद्धको आन्दोलन र शोषण,दमन, अन्याय र अत्याचार विरुद्धको आन्दोलनहरुका कारणले पनि कोरोना संक्रमण फैलिन मद्दत पुगेको छ । यी यावत् आन्दोलनहरु सत्तापक्षका अकर्मण्यता र गलत रबैयाका कारण बाध्यतावस् गरिएको हुॅंदा यसको जिम्मेवारी पनि सरकार पक्षले नै लिनुपर्छ ।

कुनैपनी विषयना जनतालाई संवेदनशील, जिम्मेवार या लापरवाह जे बनाउन पनी सरकार, मन्त्री वा प्रधानमन्त्रीको ठूलो भूमिका हुन्छ । सुरुका दिनहरुमा नेपाली जनतालाई कोरोना प्रती सावधानी अपनाउनका लागी नेपाल सरकारले राम्रो भूमिका खेल्यो र यसले गर्दा कोरोना संक्रमण नियन्त्रण पनी भएकै हो तर पछि आएर कोरोनाको बारेमा जनतालाई असावधान बनाउने र भ्रम फैलाउने काम पनि सरकारले नै गर्यो ।

जब प्रधानमन्त्रीबाट कोरोना केही होइन अदुवा, मरिच, बेसारपानी खाएर हाच्छिउ गरेर कोरोना उड्छ भन्ने भनाइ सार्वजनिक भयो, प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेका कुरा पक्कै झुटो होईन भन्ने ठानेर कैयौॅं शिक्षाको उज्यालोबाट बन्चित नेपाली जनताहरुले कोरोनालाई सामान्य रुपमा लिन थाले र सावधानी अपनाउन छाडे। यसबाट पनि केही हदसम्म संक्रमण फैलिन गयो । अदुवा , मरिच , बेसार लगायतका जडिबुटीहरु स्वास्थ्यका लागी फाईदाजनक हुन् तर कोरोनाको औषधी होईनन् भनेर अशिक्षाको ॲंध्यारोमा रहेका जनताहरुलाई बुझाउने हिम्मत सत्तापक्षका कोही कसैले गर्न सकेनन् बरु सबैजना यसको ठिक विपरित अन्धभक्त भयर प्रधानमन्त्रीको भनाइलाई सत्य सावित गराउने दौडमा लागे ।

कोरोना एउटा भाईरस हो, यसले सत्तापक्ष-प्रतिपक्ष , धनी-गरीब, नेता-जनता, सांसद, मन्त्री, प्रधानमन्त्री, व्यापारी, सुरक्षाकर्मी कसैलाई चिन्दैन र यसलाई लकडाउनले मात्र पनि रोक्न सक्दैन । सरकारले यही कुरा बुझ्न नसकी लकडाउनलाई मात्र कोरोना रोक्ने विकल्प सोंचेर अन्य कुराहरुमा सावधानी नअपनाउनाले गर्दा आज कोरोना भाईरस सर्वसाधारण जनताबाट सुरक्षाकर्मी, व्यापारी, नेता, सांस। मन्त्री हुॅंदै प्रधानमन्त्री निवास बालुवाटारको ढोकाबाट भित्र छिरिसकेको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा नगरी पार्टीको बैठक , मन्त्रीपरिषद्को बैठक , भेटघाट लगायत सम्पूर्ण राजनीतिक कार्यक्रमहरु प्रधानमन्त्री निवासमा नै गर्ने प्रवृत्तिको परिणाम हो यो । यस्तै अवस्था रहिरहेमा प्रधानमन्त्रीको एक घर एक रोजगारीको योजना अब एक घर एक कोरोना संक्रमितमा परिवर्तन हुने पक्का छ ।

Comments