मेलबर्न। अष्ट्रेलियामा युनिभर्सिटीले अनलाइन पढाउँदा पनि पूरा कोर्सको शुल्क लिएकोमा विद्यार्थीहरुले आपत्ति जनाएका छन्। विद्यार्थीहरुले घरबाटै अनलाइन पढ्दा पनि कुनै सहुलियत नदिई नियमित कलेज / युनिभर्सिटी गएजसरि शुल्क लिएको भन्दै आपत्ति जनाएका हुन्।

युनिभर्सिटीहरुले यस्तो महामारीको समयमा पनि शुल्क नघटाएकोमा विद्यार्थीहरुले आफूहरु मारमा परेको बताएका छन्। उनीहरुका अनुसार, काम पाउन गाह्रो भैरहेको छ भने, अर्कोतिर युनिभर्सिटीलाई पूरा शुल्क तिर्नुपर्ने अवस्था छ।

विद्यार्थीले घरबाट नै अनलाइन पढ्दा निकै सस्तो शुल्कमा पढ्न सकिने तर अहिले युनिभर्सिटीले त्यसरी नै अनलाइन कक्षा लिंदा भने महँगो शुल्क लिएको बताएका छन्। विद्यार्थी भन्छन् , ” अनलाइन नै पढ्न त हामीले आफ्नो देशमा नै रहेर र सस्तो शुल्कमा पढ्ने थियौं। युनिभर्सिटीमा हुने प्रयोगात्मक ज्ञान, शिक्षकहरुको अन्तरक्रिया सहित पढ्नको लागि यहाँ आयौं। तर युनिभर्सिटीले अनलाइन पढाउँदै महामारीको यस्तो समयमा पनि पूरा शुल्क लिइरहेको छ “।

एसबिएस न्युजका अनुसार, मोनास युनिभर्सिटीका विज्ञान विषयका एक विद्यार्थीले अनलाइन पढ्दा युनिभर्सिटीले ल्याब शुल्क समेत नहटाएको बताएका छन्।

अष्ट्रेलियामा थोरै मात्र युनिभर्सिटीले शुल्कमा सहुलियत गरिरहेका छन्। धेरैजसो युनिभर्सिटीले भने विद्यार्थीलाई सहयोग कोष राखिएको तर शुल्क कम गर्न नसकिने बताएका छन्। उनीहरुले अनलाइन पढाइ व्यवस्थापनको लागि निकै खर्च गर्नुपरेकोले शुल्क कम गर्न नसकिने उल्लेख गरेका छन्।

पूरा समाचार पढ्नको लागि क्लिक गर्नुहोस् >> sbs.com.au/language/english/it-s-unfair-to-be-paying-full-course-fees

Comments