काठमाडौं । मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । लकडाउनको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् ।

शुक्रबार निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले ‘होलिडे’ नामको टुर प्याकेज सार्वजनिक गर्यो । सो प्याकेजमा नेपालका प्रमुख गन्तव्यहरु पोखरा र चितवनको सौराहाका लागि हवाई टिकट, होटल पिक एण्ड ड्रपदेखि होटलको सबै खर्चहरु समेत समावेश गरिएको छ ।

अर्को निजी विमान कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तव्यका १६ वटा टुर प्याकेज सार्वजनिक गर्यो । यतिले ट्रंक रुटहरु मात्रै नभएर माउन्टेन फ्लाइटदेखि रारा, मुक्तिनाथ, तुम्लिङटार लगायत हिमाली पर्यटकीय गन्तव्यलाई समेत लक्षित गरेर त्यस्तो प्याकेज ल्याएको हो ।

बुद्ध र यति दुवैले ल्याएका प्याकेज तुलनात्मक रुपमा आकर्षक छन् । बुद्धले ल्याएको प्याकेजमा थप विविधिकरण गर्दै यतिले एउै प्याकेजभित्र पनि विभिन्न स्कीमको छनौट सुविधा दिएको छ । त्यसबाहेक हिमाली गन्तव्यहरुको प्याकेजले आन्तरिक पर्यटकहरुमा एउटा नयाँ उत्साह समेत थपेको छ ।

एयरलाइन्सका पर्यटकीय प्याकेजले आन्तरिक पर्यटनलाई गतिशिल बनाउनाका साथै आर्थिक गतिविधि पनि बढ्नेमा व्यवसायी ढुक्क छन् ।

एयरलाइन्स कम्पनीहरुले यो योजना अल्पकालीन र प्रवर्द्धनात्मक भएको जनाएका छन् । कोभिड–१९ का कारण मात्रै आफूहरुले यस्तो टुर प्याकेज बनाउन सकेको भन्दै यात्रुको संख्या बढ्दै गएपछि यस्तो प्याकेज ट्राभल एजेन्सीकै जिम्मामा दिने समेत उनीहरुको भनाइ छ ।

 

Comments