– शान्ति पौड्याल

प्रिय भाई !
हामी यहाँ सबै आरामै छौं। तिमी पनि आरामै रहिरहु भन्ने भगवानसंग कामना गरी बसेकी छु। हरेक दिनजसो फोन र भिडियोकलमा कुराकानी हुने हुँदा यो पत्र तिमीलाई अलि अस्वभाविक लाग्न पनि सक्ला। तर पत्रमा पोखिने शब्दमा जस्तो शक्ति, गहिरा भाव फोनकल र भिडियो कलमा भेट्दिन म ! तिम्री दिदी पूरानो जमानामा हुर्किएकी हो नि !

आजकाल तिमी निकै गम्भीर, चिन्तित र भावुक महसुस गरिरहेकी छु।

मलाई थाहा छ, आफ्ना सपनाहरु मोडिनुको पीडा। मैले महसुस गरेकी छु, आफ्नो दुनियाँमा स्वतन्त्र रुपले हिंड्न नपाउनुको पीडा। मैले महसुस गरेकी छु त्यो हिनताबोध, जब आफ्नो गोजीमा हुँदैन आफ्ना चाहना पूरा गर्ने रुपैयाँ।

मलाई थाहा छ बाबु ! जब आफू जिम्मेवारीले, कर्तव्यले थिचिएको हुन्छौं, जब आफ्नै चाहनाहरुलाई मारिरहेका हुन्छौं, जब भित्र पीडा लुकाएर बाहिर मुस्कान देखाइरहेका हुन्छौं, जब भित्र गुहार मागिरहेका हुन्छौं तर बाहिर ठीक छ भनि हिंडिरहेका हुन्छौं, त्यस्तोबेला अरुले हामीप्रति व्यक्त गर्ने चाहना, आकांक्षा, आशाले हामीलाई झन् बढी थिच्ने गर्छ। 

भाई ! यिनै कुराहरुले नै मान्छेलाई परिपक्क गराउँछ। सायद यही नै जीवन हो। तिमी यहाँ हुँदा, तिमी यी कुराहरुबाट टाढा थियौ, तिमीलाई लाग्थ्यो जीवन सहज छ र अष्ट्रेलिया उडेपछि जीवन अझ स्वतन्त्रताका साथ सपनाको संसारमा सयर गर्नेछ। तिमीले सोंचे अनुरुप त्यहाँ नभएपछिको खिन्नता म तिम्रो बोली, तिम्रो अनुहार, तिम्रा भनाइ, तिम्रा व्यवहारबाट नै महसुस गर्न सक्छु भाई ! आखिर तिमीलाई मायाले हुर्काएका यिनै हात हुन्, जसले अहिले पत्र कोरिरहेका छन्।

म खुशी छु भाई ! यस अर्थमा होइन कि, तिमीले अहिले मनमा भारी लिएर हिंडेका छौ। यसअर्थमा की, तिमीले जिन्दगी बुझ्ने मौका पायौ। अवसर पायौ। यो अवसरलाई सदुपयोग गरेर आफूलाई अझ जिम्मेवार, परिपक्क, दृढ बनाउनु। यसलाई अवसरको रुपमा नचिन्नेहरु हतास हुन्छन्, निराश हुन्छन् र आफ्नो जीवन तहस नहस पार्नेतर्फ उन्मुख हुन्छन्। तर मलाई थाहा छ, मेरो स्नेहले, मेरो प्रार्थनाले समेत छोपिएको मेरो भाई बुद्धिवान छ।

अहिले कोरोना महामारीका कारण आएको परिस्थितिले विद्यार्थीहरु थप विचलित भएका छन्,भन्ने सुनेकी छु। तर तिमी विचलित नहुनु र साथीहरुलाई पनि सम्झाउनु। जिन्दगी सधै योजनाबद्ध तरिकाले कहाँ चल्छ र ?

कोरोना परिक्षण गराउनु। आफ्नो स्वास्थ्यको ख्याल राख्नु। एनआरएनए , अष्ट्रेलिया सरकार स्वयम् र अन्य नेपाली संस्थाले पनि सहयोग गरिरहेका छन् भन्ने समाचार देखिरहेको छु। आवश्यक सहयोग लिन, परामर्श लिन कहिल्यै पछि नहट्नु। यता पनि निरन्तर सम्पर्कमा रहयौ भने मनको बोझ हल्का हुनेछ।

अब त तिम्री दिदी पनि आत्मनिर्भर भ’की छ। त्यसैले खान नै नपाउने, जिन्दगी रोकिने नै अवस्था आउने हो कि भनेर चिन्ता नलिनु। म तिम्रो दिदी मात्र होइन, अभिभावक संगै साथी पनि हूँ। त्यसैले आफ्ना कुरा निर्धक्क गर, मनमा कुरा गुम्साएर नबस। र, सधै सम्झनु, आफू रहे मात्र आफ्नो सपना साकार हुनसक्छ।

धेरै धेरै माया अनि आशिर्वाद !

हरेक वर्षको रक्षाबन्धन र तिहारमा तिम्रो नामको राखी र टिका संगालेर राखिरहेकी तिम्री ठूली दिदी

शान्ति

Comments