बलात्कारको आरोपमा हिरासतमा रहेका नेपाली युवा बलराम शिवको मुद्दामाथि न्यु साउथ वेल्सको सर्वोच्च अदालत डार्लिङहस्टमा सुनुवाई शुरु भएको छ ।

सन् २०१७ को जुनमा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिलामाथि यौन हमला गरेको आरोपमा अमेरिकाबाट सिड्नी ल्याइएका बलरामको मुद्दामा सोमबार २७ जुलाईबाट सुनुवाई शुरु भएको हो ।

अदालति कारबाही करिव दुई हप्ता सम्म चल्ने सक्ने बताईएको छ । गएको बर्ष दक्षिण सिड्नीको सदरल्याण्ड अदालतले शिवको जमानत अस्विकार गरेपछि उनी हिरासतमै थिए ।

बलराममाथि यौन हमलाको आरोप

अमेरिकामा बस्दै आएका बलराम शिव पर्यटक भिसामा २०१७ मा अस्ट्रेलिया आएका थिए । न्यु साउथ वेल्स प्रहरीका अनुसार शिवले २०१७ को जुन महिनामा काल्टनमा बसोबास गर्ने २१ बर्षिय नेपाली महिलामाथि यौन हमला गरेको आरोप रहेको छ । घटना पछि आरोपित शिव त्यही दिन अमेरिका फर्केका थिए ।

अमेरिका र अस्ट्रेलिया बीचको सुपुर्दगी सन्धिका आधारमा न्यु साउथ वेल्स प्रहरी, सेन्ट जर्ज कमाण्डका प्रहरी अमेरिका पुगेर शिवलाई पक्राउ गरी अस्ट्रेलिया ल्याएका थिए । उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अस्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।

न्यु साउथ वेल्स प्रहरी सेन्ट जर्ज कमाण्डका डिटेकटिभ तथा एक्टिङ सर्जेन्ट बेन कोलम्यानले पिडितलाई केही भए पनि न्याय दिलाउन सफल भएको बताए । यो अपराधको अनुसन्धान निकै जटिल र कठिन भए पनि प्रहरी टोलीको कडा परिश्रमले अभियुक्तलाइ पक्रिएर अदालतमा उभ्याउन सफल भएको कोलम्यानले बताए ।

बलराम शिव माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको थियाे।

Comments