बागलुङ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङको पश्चिम तमानखोलामा एक घर पुरिदा एकै परिवारका दाजु बहिनीको मृत्यु भएको छ भने आमा घाइते भएकी छन् ।

सोमबार राती तमानखोला गाउँपालिका–२ खोलेस्वाङगमा गएको पहिरोले घर पुरिँदा एकै घरमा दाजु बहिनीकोे मृत्यु भएको हो । पहिरोले घर पुरिँदा स्थानीय पानबहादुर रसाईलीका १३ बर्षिय छोरा खेमबहादुर रसाईली र ११ वर्षीया छोरी रिता रसाईलीको शव फेला परेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए ।

पहिरोले पानबहादुरकी श्रीमती ३४ बर्षिय होमकुमारी रसाईली घाइते भएकी छन । पानबहादुर भने बैदेशिक रोजगारीको सिलसिलामा साउदी रहेको अध्यक्ष बुढाले बताए ।

रातको समयमा घरमै सुतिरहेको बेलामा आएको पहिरोले दुई बालबालिका पुरिएका थिए भने आमा घाइते अवस्थामा रहेको तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए । घाइतेको खुट्टामा गम्भीर चोट लागेको र प्राथमिक उपचारपछि थप उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको स्वास्थ्य शाखा संयोजक छन्त्यालले जानकारी दिए ।

राती करिब १ बजेको समयमा स्थानियले पहिरो गएको थाहा पाई खबर गरेपछि बोङदोभानबाट प्रहरीसहित स्वास्थ्यकर्मीको टोली उद्धारका लागि घट्नास्थलमा पुगेको थियो । स्थानीय र प्रहरीको सक्रियतामा घाइतेलाई उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ ।

पहिरोले स्थानिय ६८ बर्षिय फुलमायाँ कामीको घरमा पनि आंशिक क्षती पु¥याएको छ भने अन्य तिन घर जोखिममा रहेको स्वास्थ्य संयोजक छन्त्यालले बताए ।

Comments