मेलबर्न । अष्ट्रेलियावासी टोनु घोथानेले नेपालका १ सय जना मजदुरलाई आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । कोरोना भाइरसका कारण नेपालमा लकडाउन भएपछि मारमा परेका ज्यालादारी काम गर्ने मजदुरहरुलाई उहाँले सहयोग गर्नुहुने भएको हो ।

नेपाली नयाँ वर्षको दिनमा सहयोग घोषणा गर्दै टोनु घोथाने भन्नुहुन्छ , ” नेपालमा रहेकी साथी साक्षी राणासंग कुरा गर्दैगर्दा उहाँले त्यहाँ लकडाउनका कारण ज्यालादारी काम गर्ने मजदुरहरुको बिचल्ली भएको बताउनुभयो । त्यसपछि अन्य साथीहरुसंगको कुराकानीमा पनि यो कुरा दोहोरियो । कोरोनाका कारण अहिले सबै प्रभावित छौं, तर नेपालमा ज्यालादारी काम गर्ने मजदुरहरुको बारेमा पाएका जानकारी र पढेका समाचारहरुले मलाई उनीहरुको लागि सहयोगको हात बढाउनुपर्छ भन्ने लाग्यो “। 

अहिले कोरोना नियन्त्रणको लागि र कोरोनाबाट प्रभावितहरुका लागि विभिन्न तवरबाट सहयोग रकम संकलन भइरहेको छ । यस अवस्थामा मजदुरहरुलाई सहयोग गर्ने आफ्नो निर्णयको बारेमा घोथाने भन्नुहुन्छ, ” अन्यको तुलनामा अहिले ज्यालादारी काम गर्ने मजदुरहरु बढी पिडित भएको महसुस गरें । उनीहरु आर्थिक र मानसिक पीडामा छन् । आखिर म अष्ट्रेलिया रहेतापनि नेपालमा रहने सबै मेरा आफ्ना हुन् । साथीहरुसंग कुरा गरिसकेपछि मलाई आफूले पढेको पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको एउटा प्रसङ्ग याद आयो । एकीकरणको समयमा युद्धको लागि हातहतियार नभएपछि पृथ्वी नारायण शाह सल्लाह लिनको लागि एकजना बुद्धिमान महिलाकोमा जान्छन् । ती महिलाले अहिलेको एक रुपैयाँ बराबरको त्यतिबेलाको पैसा उनको हातमा राखीदिन्छिन् । पृथ्वी नारायण शाहले नराम्रो मान्छन् । तब ती महिलाले सम्झाउँछिन् कि, त्यो पैसा केही पनि होइन, तर गोरखा राज्यका हरेक व्यक्तिले त्यति पैसा दिएभने हातहतियार किन्न सक्ने रकम जम्मा हुन सक्छ ” ।

उहाँ थप्नुहुन्छ, ” मलाई थाहा छ, मेरो यो सहयोगले ती मजदुरहरुका समस्याहरु समाधान हुने छैनन्, तर उनीहरुको मनोबल केही हदसम्म बढ्नेछ भन्ने लाग्छ । र, अघि मैले उल्लेख गरेको प्रसङ्गमा जस्तै अरु साथीहरुले पनि हात अगाडी बढाउनुभयो भने पक्कै पनि यो अवस्थामा उनीहरुलाई राहत मिल्नेछ ” ।

एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष, टिडब्लु जिजी एजुकेशनका प्रिन्सिपल तथा कानुन व्यवसायी टोनु घोथानेले एक सय जना मजदुरलाई एक दिनको ज्याला बराबर अर्थात प्रत्येकलाई १ हजार रुपैयाँ दिने बताउनुभएको छ । मजदुरहरुको सहयोगको लागि हात अगाडी बढाउन आग्रह गर्दै उहाँ भन्नुहुन्छ, ” आफू बाँचौं र अरुलाई पनि बाँच्न सक्ने वातवरणको निर्माण गर्न सहयोग गरौँ । सहयोग गर्नैपर्ने सामाजिक दबाबबाट पर रहेर आफ्नो ठाउँबाट आफूले सक्ने र आफूले चाहे अनुसारको सहयोग गरौँ ” ।

टोनु घोथानेद्वारा ज्यालादारी काम गर्ने मजदुरहरुका लागि घोषणा गरिएको रकम हिमालयन कंगारुको संयोजकत्वमा मजदुरहरुलाई अति आवश्यकताका आधारमा प्रदान गरिनेछ ।

Comments