काठमाडौं । सरकारका प्रमुख घटक संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टी प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको हो । उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले आजै पदबाट राजिनामा दिनुभएको छ । सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका कानुनमन्त्री यादवले बताउनुभयो ।

दुईबुँदे सम्झौताबाट सरकार पछि हटेको उहाँको भनाई छ । संविधान संशोधनका बिषयमा पटक पटक प्रधानमन्त्रीसँग कुरा राख्दा समेत सुनुवाई नहुदा आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । सरकारले सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा राजिनामा दिएको मन्त्री यादवको राजीनामा पत्रमा उल्लेख छ ।

बहुमत गुम्योे

सत्तासाझेदार दल समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने भएको छ ।

सत्तारुढ दल नेकपासँग प्रतिनिधि सभामा स्पष्ट बहुमत छ । तर संवैधानिक व्यवस्थालाई आधार मान्दा समाजवादीले सरकार छाडेपछि तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपालको संविधानको धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था गरिएको छ । उक्त धाराको उपधारा (२)मा सत्तासाझेदार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभा समक्षा विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

यस्तै समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाएको छ । समाजवादी पार्टीसमेत सम्मिलित हुँदा दुई तिहाइ सदस्यको समर्थन रहेकामा उक्त पार्टी बाहिरिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र प्राप्त छ । समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत नपुग्ने भएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत र्पुयाउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् । समाजवादी पार्टीका १७ जना सांसद छन् ।

Comments