मिथिलाञ्चलको महत्वपूर्ण छठ पर्व आजबाट शुरु भएको छ ।

छठको पहिलो दिन आज अरबा अरबानइन वा नहान खान मनाइन्छ । ब्रतका क्रममा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । छठको दोस्रो दिनलाई खरना भनिन्छ । गाईको गोबरले लितपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलनले भूमि सजाएर ब्रतालुले दिनभरी निराहार व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद खाने गर्छन् । छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

चार दिनसम्म मनाइने यस पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइएको छ ।

Comments