काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारत सरकारले हालै सार्वजनिक गरेको राजनीतिक नक्सालाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

गत मंसिर २९ गतेबाट सुरु भई पुस ६ गते सम्पन्न भएको नेकपाको स्थायी समिति बैठकले जम्मु र कश्मीरलगायतलाई केन्द्र सरकारको मातहातमा ल्याएपछि भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमि लिम्पियाधुरालगायतलाई समेटेको भन्दै सो नक्सा अस्वीकार गर्ने निर्णय गरेको हो । वैठकका निर्णय सार्वजनिक गर्दै नेकपाले नेपाली भूमिबाट भारतीय फौज हटाउन पनि आग्रह गरेको छ । लिम्पियाधुरा उद्गमस्थल रहेको काली नदी पूर्वको नेपाली भू भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई बैठकले अस्वीकार र अमान्य घोषणा गरेको बैठकको निर्णयमा उल्लेख गरिएको छ । नेपालीे भू भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण गर्दै अतिक्रमित भू भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय समेत गरेको छ ।

७ दिन लामो छलफलपछि पारित गरिएको निर्णयमा नेपाल भारत समस्याको सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकोमा त्यसविपरीत प्रकाशित नक्सा आपत्तिजनक रहेको बैठकले ठहर गरेको उल्लेख छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

गत २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ ।

नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । बैठकबाट महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन समेत पारित भएको छ । यस्तै बैठकले आगामी पुस २३ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठकले पार्टी एकताका बाँकी रहेका काम १५ दिनमा सक्ने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

Comments