काठमाडौं । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थुनामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाण्डौंको गत कार्तिक १८ गतेको आदेशलाई सदर गरेको हो । तत्काल प्राप्त प्रमाणका आधारमा कसुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको’ भन्दै जिल्ला अदालत काठमाण्डौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाण्डौंका एक नम्बर न्यायाधीश सुदर्शन पाण्डेको आदेशपछि महरालाई डिल्लीबजार कारागारमा रहनुभएको छ । आफूलाई कानूनी आधारविना पुर्पक्ष धुनामा पठाएको भन्दै महराले फेरी आदेश बदरको माग राखी सर्वोच्च अदालतमा निवेदन दिने बाटो खुला छ । बलात्कारको प्रयासको मुख्य मुद्दा भने जिल्ला अदालत काठमाण्डौंमा विचाराधिन छ ।

संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफ्नो कोठामा आएर बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ मा पक्राउ गरेको थियो । झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा उहाँविरुद्ध मुद्दा दायर भएको थियो । महरामाथि साढे ७ वर्ष कैदको माग दाबी थियो ।

Comments