काठमाडौं । कर्णाली प्रदेश सरकारले छोरीको नाममा बैंक खाता खोल्ने योजना सुरु गरेको छ ।

‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत प्रदेश सरकारले कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको साउन यता जन्मिएका छोरीहरुको बैंक खाता खोल्न सुरु गरेको हो । कर्णाली प्रदेश सरकारले यही आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यो योजना ल्याएको थियो । यो योजनाअन्तर्गत छोरीको नाममा बैंक खाता खोली २० वर्ष नपुग्ने बेलासम्म झिक्न नमिल्ने गरी खातामा पैसा जम्मा गरिने छ । सुरुमा खाता खोल्दा १ हजार रुपैयाँ जम्मा गरिनेछ भने त्यसपछि २० वर्ष पुग्ने बेलासम्म मासिक ५०० रुपैयाँका दरले खातामा पैसा जम्मा हुनेछ । यद्यपी आवश्यकता र परिस्थितिका आधारमा यो रकमलाई हेरफेर गर्न मिल्नेगरी कार्यविधी बनाइएको छ ।

खाता खोलिएका छोरीहरु २० वर्ष पुग्दासम्म उनको खातामा प्रतिव्यक्ति एक लाख २१ हजार रुपैयाँ जम्मा हुन्छ । ब्याजसहित खातामा करिब दुई लाख रुपैयाँ जम्मा हुनेछ । यो योजना आजदेखि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटबाट सुरु भएको छ । खाँडाचक्र नगरपालिका वडा नम्बर १ र २ का दुई दलित समुदायका बालिकाको बैंक खाता खोलेर मुख्यमन्त्री शाहीले योजनाको सुरुवात गर्नुभएको हो ।

२०७६ साउन १० गते जन्मिएकी जानकी परियार र असोज २३ गते जन्मिएकी जमुना सुनारको खाता खोलेर कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिनुभयो । जमुना र जानकीको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बजेटमा यो कार्यक्रमका लागि ७ करोड रुपैयाँ विनियोजना गरिएको छ ।

Comments