काठमाडौं । नेवार समुदायले मनाउने नेपाल संवत् (नयाँ वर्ष) ११४० मनाउनका लागि यस वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले मंगलवार कात्तिक १२ गते विशेष उत्सवका रुपमा मनाउन काठमाडौँको वसन्तपुरमा वृहत कार्यक्रमको आयोजना गर्दैछ । काठमाडौँ उपत्यकाका नेवारी समुदायका विभिन्न गुठी तथा सांस्कृतिक सङ्गठनलाई निमन्त्रणा पठाइएको छ । स्थानीय ठैटीमा नाट्येश्वरको पूजा सम्पन्न गरी  मंगलवार बिहान ७ बजे वसन्तपुरमा भेला भई सांस्कृतिक र्यालीमा सहभागी हुने कार्यक्रम तय गरिएको छ । आ–आफ्नो टोल शहरमा नयाँ वर्षको प्रचारका लागि दीप प्रज्वलन, सुकुन्दा र्याली, खेलकूद कार्यक्रम आयोजना गरिएको छ । भोलि मङ्गलबार विभिन्न टोलटोलबाट निकालिने सम्बन्धित वेशभूषाका झाँकीसहित सांस्कृतिक पहिचान झल्कने र्याली नगर परिक्रमापछि वसन्तपुरमा आएर मुख्य समारोहमा समायोजित हुनेछ । उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी शुभकामना दिने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरूवात गर्नुभएको इतिहासमा उल्लेख छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको विज्ञहरुको भनाई छ । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् भएको जानकारहरुको टिप्पणी छ ।

यस वर्ष तिथि–मिति घटबढ भएका कारण यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ ।

Comments