काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ ।

शनिवार संयुक्त पत्रकार संघर्ष समितिद्धारा काठमाडौंमा आयोजित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको प्रश्न विषयक अन्तक्रियामा महासचिव वैद्यले समाजवादको कुरा गरेर सरकार तानाशाही व्यवस्थातर्फ उन्मुख भएको बताउनुभयो । सरकारलाई मिडिया र मानवअधिकारमाथि अंकुश लगाउने कानुन फिर्ता लिन आग्रह गर्दै बैद्यले फिर्ता नलिए सरकार आफैं संकटमा पर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई सत्ताको मात लागेको भन्दै मिडियामाथि अंकुश लगाउने विधेयक फिर्ता लिन आग्रह गर्नुभयो । सरकारले घुँडा नटेकेसम्म जनमोर्चाले संघर्ष जारी राख्ने अध्यक्ष केसीले चेतावनी दिनुभयो ।

संयुक्त संघर्ष समितिले नेपाल पत्रकार महासंघले थालेको आन्दोलनलाई साथ दिने जनाएको छ । सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म संघर्ष जारी राख्ने संघर्ष समितिले निर्णय गरेको छ ।

Comments