मेलबर्न । एनआरएनए अष्ट्रेलियले व्यावसायिक प्रतिनिधिको सहयोगमा अष्ट्रेलियाबाट नेपालमा लगानी गर्ने अवसरका बारेमा श्वेत पत्र तयार गर्न सुझाव दिएको छ।

त्यसका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, नेपाली राजदूतावास र एनआरएनएका पदाधिकारीहरू सम्मिलिन संयुक्त कमिटी निर्माण गरी सो कार्यमा सहयोग गर्नेछ।

‘एक एनसिसी, एक लगानी, एक रोजगारी” नाराका साथ सिड्नीमा यो साता सम्पन्न एकदिने दोश्रो राष्ट्रिय उद्यमी सम्मेलनपछि एनआरएन अष्ट्रेलियाले श्वेतपत्र तयार पार्न सुझाव दिएको हो ।

श्वेतपत्र एनआरएनए पोलिसी इन्स्टिच्यूटमार्फत् नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। त्यसैगरी एनआरएनए अष्ट्रेलियाले महिला उद्यमीको तथ्यांक संकलन गरी नेपालमा महिला उद्यमशिलतालाई प्रोत्साहन दिनका लागि विभिन्न क्षेत्रहरूको पहिचान गर्ने काम समेत गर्न सम्मलेनले सुझाव दिएको छ।यसका साथै आइटी, रेल, कृषि लगायतका क्षेत्रमा एनआरएनए ग्लोबलसँग समन्वय गरेर अध्ययन गर्न समेत सम्मेलनले सुझाव दिएको छ।

सम्मेलनमा डा शमशेर सिंह थापा, डा कृष्ण हमाल, गोवा कटुवाल, श्री नापित तथा डा राजु अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । सन् २०१७ देखि शुरू भएको पहिलो तथा २०१९ को दोश्रो सम्मेलन एनआरएनए अष्ट्रेलियाका प्रवक्ता तथा युवा व्यवसायी डिला खरेलले संयोजन गरिरहनुभएको छ । कार्यक्रम संस्थाका अध्यक्ष टोनु घोतानेको सभापतित्वमा सम्पन्न भएको थियो।

Comments