मेलबर्न । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाका नेपालीहरुको कार्यक्रममा आफूले घमण्ड देखाएको भन्ने आरोपको खण्डन गरेका छन् ।

क्रिकेट खेल्न अष्ट्रेलिया आइपपुगेका सन्दीप लामिछानेले गत शनिवार मेलबर्नमा आयोजित नेपाल फेष्टिबलमा घमण्ड प्रदर्शन गरेको भन्दै यहाँका नेपालीहरु रुष्ट बनेका थिए ।

मेलबर्नमा रहेका नेपालीले उनको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेका थिए। सोही कार्यक्रममा सहभागी हुँदा सन्दीपले घमण्ड गरेको उनीहरुको आरोप छ ।

सन्दीपसँगको संवाद सार्वजनिक गर्दै नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका पूर्वसचिव नोर्गेन नोर्वुले फेसबुकमा उनले घमण्ड गरेको आरोप लगाएका हुन्। उनले सन्दीपले आफ्नो विगत बिर्सिएको भन्दै आलोचना गरेका छन्।

परेड सुरु हुन १५ मिनट ढिला हुँदा, यो कस्तो खालको म्यानेजमेन्ट हो ? भन्दै सन्दीपले आयोजकविरुद्ध नानाथरी टिप्पणीगरेको नोर्वुले दाबी गरेका छन् । साथै उनले आफू भीआइपी भएको घमण्ड समेत प्रदर्शन गरेको नोर्वुको भनाइ छ ।

उता सन्दीपले भने आफूले परेडमा सहभागी हुँदा घमण्ड नदेखाएको दाबी गरेका छन्। ट्विटरमार्फत् स्टाटसको खण्डन गर्दै सन्दीपले त्यसमा सत्यता नभएको बताएका हुन्।

‘यो गलत हो। सरासर गलत हो। यो कथा एक लाइन पनि सत्य छैन। आखिर कहिलेसम्म ?’ सन्दीपले प्रश्न गर्दै भनेका छन्, ‘कृपया लेख्नुअघि सही सूचना प्रयोग गरौं। गलत नगरेको व्यक्तिलाई झार्ने काम नगरौं।’

Comments