बेइजिङ । प्रधानमन्त्री केपी ओलीले चीनमा बसोबास गर्ने नेपाली समुदायलाई राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् । बुधबार बिहान बेइजिङस्थित नेपाली दूतावासमा भेला भएका नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ नेपाल निर्माण गर्न विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई एक भएर जुट्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो चीन भ्रमण भएको उल्लेख गर्दै अहिले फरक प्रसङ्ग भएकाले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने र अझै गहिराईमा पुर्‍याउने उनले विश्वास व्यक्त गरे। आफ्नो दुई वर्ष अगाडिको भ्रमणले दुई देशबीचको सम्बन्धमा कोशेढुङ्गाको काम गरेको पनि उनले उल्लेख गरेका थिए। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

पूर्वाधार विकासका क्षेत्र र पारवाहनका क्षेत्रमा चीनसँग भएका सम्झौताले जुन योगदान गरेका थिए तिनकै जगमा आज दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने काम भएको उनले बताए। दुई पक्षीय लाभका लागि मैत्री सम्बन्धलाई अझ माथि लान अझ सुदृढ भरोसा, एक अर्काप्रतिको अपेक्षा र सद्भाव बोकेर मित्रताको सिँडीहरु थप्नका लागि आफू चीन भ्रमणमा आएको प्रधानमन्त्री ओलीले बताए।

नेपाल र चीनबीच बहुआयामिक यातायात सञ्जाल विकास गरी दुई देशबीचको पर्यटन व्यापार तथा वाणिज्य र जनस्तरको सम्बन्ध विकास गर्ने बताउँदै उनले हवाई र रेल सम्पर्क विकास गरी चीनको गतिशील अर्थतन्त्रमार्फत नेपाललाई बाह्य विश्वसँग जोडेर प्रगतिशील गतिमान र समुन्नत राष्ट्र बनाउने आफ्नो सपना रहेको उनले स्पष्ट पारे।

पर्यटन व्यापार तथा लगानी र कृषि र उद्योग क्षेत्रमा सहयोग बढाउन दुई देशबीचका संभावनाहरुलाई यथार्थमा मनन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्ने, उद्योगलाई समयानुकूल अगाडि बढाउने र दक्ष जनशक्ति उत्पादन गर्न तथा कृषि प्रवर्द्धन गर्ने कुरामा नेपाल सरकारले ध्यान दिँदै आएको बताए। यस्ता विषयमा चीनसँग असाधारण सफलता र अनुभव रहेकाले नेपालको विकासमा सहयोग पुर्‍याउने भावना पनि चीनसँग रहेको उल्लेख गरे। ‘यस सन्दर्भमा बीआरआई एउटा गतिलो पहल भएको छ’ उनले स्पष्ट पारे ‘बीआरआई सबैका लागि उपयोगी हुन सक्छ।’

प्रधानमन्त्री ओलीले व्यापार घाटा कम गर्न उत्पादन क्षमता वृद्धि गरेर निर्यात बढाउनेमा नेपाल सरकार प्रयासरत रहेको बताए। उनले यस क्षेत्रमा पनि चिनियाँ सहयोगको अपेक्षा गरेको बताए।
चिनियाँलाई ढुक्क भएर नेपालमा लगानी गर्न उनले आह्वान गरे।

नेपालमा संविधान बनेर सबै तहका निर्वाचन सम्पन्न भई स्थिरता स्थापित भएको दाबी गर्दै उनले विकासका लागि सरकारले सम्पूर्ण प्रयास केन्द्रित गर्नेमा उनले जोड दिए। तर, विकासका लागि नेपालका साधनश्रोत पूर्ण नभएकाले चीनसँग उद्योग व्यापार तथा लगानीका क्षेत्रमा चीनसँग सहयोगको अपेक्षा राखेको उनले बताए।

कच्चा पदार्थ प्रशस्त रहेको र श्रम गर्ने व्यक्ति पनि धेरै भएकाले विभिन्न मोडलका चिनियाँ लगानीलाई नेपालले स्वागत गरेको बताउँदै यसका लागि सबै क्षेत्रबाट नेपाल सरकारले चिनियाँ लगानीकर्तालाई अनुकूल वातावरण बनाउने भन्दै ढुक्क भएर लगानी गर्न उनले अनुरोध गरे।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा भएको र यसलाई सफल बनाउन चीनमा रहेका नेपाली समुदाय र सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहने उनले औँल्याए। सबैले संयुक्त रुपमा पहल गरेर साझा लाभ प्राप्त गरौँ भन्दै उनले विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीलाई पनि नयाँ नेपाल निर्माण गर्न हातमा हात मिलाउन प्रधानमन्त्री ओलीले आह्वान गरे।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments