बिर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले स्वार्थ बोकेर स्वाधिनताको कुरा गर्ने गरेको आरोप लगाएका छन् । सिटौलाले ओलीको राष्ट्रियताको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट स्पष्ट भएको बताए । सिटौलाले ओलीले धोती लगाउँदैमा राष्ट्रियता नझल्किने टिप्पणी गरे ।

उनले ओलीले राष्ट्रियताको भाषण गर्दै मोदीको भ्रमणका बेला देशको शीर निहुराउने गरी झुकेको दाबी गरे । सिटौलाले मोदीको भ्रमणबाट ओलीले स्वार्थ बोकेर राष्ट्रियताको कुरा गर्ने गरेको स्पष्ट भएको बताए ।

झापाको बिर्तामोडमा आइतबार नेपाल शिक्षक संघको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले भारतीय प्रधानमन्त्री मोदीले आफ्नै देशबाट सेना लिएर आएकोप्रति कटाक्ष गरे । उनले ओली सरकारले नेपाली जनतालाई समेत सुरक्षा दिन नसकेको बताए ।

उनले बाम गठबन्धन सिंहदरबार र जंगल दुवैतिरबाट अघि बढेकाले जनता आतंकीत बनेको बताए । उनले ओली सरकारलाई जंगलबाट हुने गरेको शासन अन्त्य गरी सिंहदरबारबाट मात्र सरकार चलाउन सुझाव दिए ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मोदीको भ्रमणले धेरै कुराहरुमा गम्भीर प्रश्न खडा गरेको बताए । उनले तत्कालीन कांग्रेस नेतृत्वको सरकारको बेला दुई पटकसम्म नेपाल आउँदा मोदीले आफ्नो देशबाट सेना नल्याएको तर, यस पटक नेपाली भूमिमा भारतीय सैनिक तैनाथ हुनुले राष्ट्रियताको मुद्दा गम्भीर बनेको बताए ।

उनले यस पटक मोदी मुलुकको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल प्रयाग गर्नुको सट्टा दिल्लीबाट नेपाल नजिकैको भारतीय विमानस्थलमै ओर्लिएर नेपाल प्रवेश गर्नुपनि गम्भीर विषय भएको बताए ।

शर्माले एउटै मुलुकमा मोदीलाई दुई फरक–फरक भूगोलमा अभिनन्दन गर्नुले पनि ओलीको राष्ट्रियताप्रतिको भाषण र व्यवहारबाट गम्भीर प्रश्नहरु खडा भएको बताए । ‘एउटै व्यक्तिलाई एउटै देशमा कसरी दुई पटक अभिनन्दन गरिन्छ ?’ शर्माले प्रश्न गर्दै भने,‘ओली सरकारले दुई फरक भूगोल मधेसमा र पहाडमा मोदीलाई छुट्टाछुट्टै कार्यक्रम गरेर अभिनन्दन गर्नुले मुलुकमा गम्भीर प्रश्न खडा गरेको छ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments