काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुनेछ ।दुई पार्टी एकतासँग जोडिएका विषय करिब टुंगो लागिसकेकाले घोषणा मिति तय गर्न दुई नेता सहमत हुनुभएको हो ।

गत ९ वैशाखमा हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिसक्नुभएको छ ।

वैशाख २० गते निर्णायक छलफल गर्ने समझदारीपछि दुवै नेता आन्तरिक कार्यक्रममा व्यस्त बन्नुभएको थियो । बुधबारको सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने संकेत गर्नुभएको छ ।

दुई दलबीच एकीकृत पार्टीमा संख्यात्मक हिस्सेदारी, चुनाव चिह्न र जनयुद्ध शब्दका विषय टुंगिन बाँकी रहेको बताइए पनि प्रचण्डले सम्मानजनक एकताका निम्ति एमाले तयार भएको जानकारी दिँदै संख्याको विषय मात्र मिलाउन बाँकी रहेको बताउनुभएको छ ।

स्रोतका अनुसार दुई दलबीच ६०–४० को अनुपातमा संख्यात्मक हिस्सेदारी मिलाउने गरी एकता टुंगो लगाउने तयारी छ ।

यसैबीच माओवादी केन्द्रसँगको एकताका विषयमा एमालेले बिहीबार आन्तरिक छलफल गर्ने भएको छ । बुधबार साँझ डाकिएको स्थायी समितिको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताले स्थगित भएपछि एमालेले बिहीबार छलफल गर्न लागेको हो ।

माओवादी केन्द्रले बुधबार केन्द्रीय सचिवालय बैठकमा एकताबारे छलफल गरेकाले एमाले नेताहरूले पार्टी स्थायी समितिमा सोही एजेन्डामा केन्द्रित रहेर छलफल हुने बताएका थिए । प्रधानमन्त्री ओली व्यस्त बनेपछि बैठक स्थगित भयो ।

Comments