काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उमेरविवादले न्याय क्षेत्रमा अभूतपूर्व अन्योल ल्याएको छ । दुईजना शीर्ष न्यायाधीशले आफू प्रधानन्यायाधीश भएको दाबी गरेका छन् भने समाज दुई पक्षमा खुला रुपमा बाँडिएको छ ।

उमेर विवादका कारण प्रधानन्यायाधीश गोपाल पराजुली सार्वजनिक र अदालती बहसको केन्द्रमा थिए ।न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुली उमेरहदका कारण पदमुक्त भइसकेको जानकारी गराएपछि विवाद उत्कर्षमा पुगेको हो । परिषद्का सचिवको पत्र कानुनी हो वा होइन भन्ने विवादले अन्योल झन् बढाएको छ ।

न्यायपरिषद्का सचिवले २१ साउन ०७४ मै पराजुली ६५ वर्ष पुगेको र अवकाश पाएको भन्दै पत्र काटेका थिए । न्यायपरिषद्का सचिवले पराजुलीको उमेर तीनवटा भएको र न्यायपरिषद् ऐनअनुसार सबैभन्दा पुरानो उमेर अर्थात् २१ साउन २००९ कायम गरिएको बताएका छन् ।

तर, बुधबार नै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले न्यायपरिषद्लाई पठाएको पत्रअनुसार भने पराजुलीको जन्ममिति १३ वैशाख २०११ हो । यो मितिअनुसार पराजुली ६५ वर्ष पुग्न अझैं १४ महिना बाँकी छ । यो विषयमा दुवैपक्षले आ–आफ्ना तर्कहरु राखिरहेका छन् ।

पराजुलीले बुधबार ११ इजलास तोके, आठ न्यायाधीशले बेन्च अस्वीकार गरे

प्रधानन्यायाधीशबाट पदमुक्त भएको पत्र काटिनुअगावै बुधबार पराजुलीले एक पूर्णसहित ११ वटा इजलास तोके । तर, आठ न्यायाधीशले बेन्च बस्न अस्वीकार गरेपछि पाँचवटा बेन्च बस्न सकेनन् । पराजुली आफैँले तोकेको एकल इजलाससहित ६ वटा इजलासमा भने सुनुवाइ भयो ।

उनले आफ्नो एकल इजलासमा १७ वटा पेसी तोकेकोमा ६ वटा मुद्दाको फैसला गरे भने १० मुद्दामा आदेश जारी गरे । १६ वटा मुद्दाको आदेश र फैसला गर्दै पराजुली दिउँसो ३ बजे अदालतबाट बाहिरिए । अदालतको अवहेलनासम्बन्धी मुद्दाको विषयलाई लिएर असहमति जनाउँदै इजलास बहिष्कार गरेका न्यायाधीश चोलेन्द्रशमशेर जबराको भने मंगलबार र बुधबार कुनै पनि इजलास तोकेनन् ।

सोमबार पराजुलीको बृहत् पूर्ण इजलासमा पेसी तोकिएको कान्तिपुर र डा. गोविन्द केसीविरुद्ध अदालतमा परेको अवहेलना मुद्दाको सुनुवाइका लागि न्यायाधीश राणाले इजलास बस्न इन्कार गरेपछि मुद्दा स्थगित भएको थियो ।

अदालतको अवहेलनाको मुद्दाका विषयमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो लिखित वक्तव्य दिँदै प्रधानन्यायाधीश पराजुलीको २१ साउनमै अवकाश प्राप्त भइसकेको भन्दै इजलासमा बस्न सोमबार इन्कार गरेपछि मंगलबार र बुधबार उनको बेन्च तोकिएन ।

८ न्यायाधीश एक घन्टा बैठकमा बसेर अदालतबाट बाहिरिए

प्रधानन्यायाधीश पराजुलीले तोकेको बेन्च बस्न अस्वीकार गरेका न्यायाधीशहरू दीपकराज जोशी, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतमा एक घन्टा जमघट भएर अपराह्न ३ बजेपछि सर्वोच्च अदालतबाट बाहिरिएका थिए ।

Comments