एजेन्सी । रेफ्रीले खेलाडीलाई खुट्टाले हिर्काएर रातो कार्ड देखाएका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा यस्तो घटना घटेको हो ।

आइतबार राति भएको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) र नान्टेसबिचको खेलमा रेफ्रीले नान्टेसका खेलाडीलाई खुट्टाले हानेर रातो कार्ड देखाएका हुन् ।

खेलको इन्जुरी समयका नान्टेसका डिफेन्डर डिएगो कार्लोस र रेफ्री टोनी चाप्रोन ठोक्किए र रेफ्री चाप्रोन मैदानमा लडे । त्यसपछि उनले नान्टेसका डिफेन्डर कार्लोसलाई खुट्टाले हान्दै उठे अनि खेलमा पहिले नै एउटा पहेँलो कार्ड पाएका कार्लोसलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि गोजीबाट रातोकार्ड निकालेर कार्लोसलाई देखाएपछि उनी मैदानबाट बाहिरिन बाध्य भए ।

मैदानमा झुक्किएर ठोक्किएर लडेका रेफ्री आफैले खेलाडीलाई हिर्काउने अनि रातो कार्ड देखाउने गरेका हुन् ।

यो खेलमा पिएसजीले नान्टेसलाई १–० ले हराएको छ । नान्टेसका अध्यक्षले रेफ्री चाप्रोनलाई कम्तिमा ६ महिनाको प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् ।

Comments